

भदौ ५ गते,डोटी : डोटीको शिखर नगरपालिका–१० स्थित शहरी स्वास्थ्य केन्द्र बनलेकका प्रमुख तथा बलायर क्लिनिकका सञ्चालक दिपक बहादुर बलायरले बुधवार दृष्टि फाउण्डेसन, धनगढीमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका छन्।
अल्पकालीन सुरक्षित घरका रूपमा सञ्चालनमा रहेको दृष्टि फाउण्डेसनमा आश्रित असहाय महिला तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी बलायरले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरेका हुन्।
फाउण्डेसनमा रहेका ६५ जनाको सामान्य स्वास्थ्य परीक्षणका साथै रक्तचाप, सुगर लगायतका स्वास्थ्य सूचकहरू परीक्षण गरिएको फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले जानकारी दिइन्। परीक्षणपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो।

“डोटीबाट आएर हाम्रो फाउण्डेसनमा रहेकाहरूको सेवामा जुट्नु भएकोमा बलायरलाई धन्यवाद दिन चाहन्छु,” भट्टले भनिन्, “आगामी दिनमा पनि यसरी नै सहयोग निरन्तर रहने आशा गर्दछु।”
संचालक भट्टले थपिन् ,‘मनकारी व्यक्तिले आफ्नो क्षमता अनुसार सहयोग गर्नुहुन्छ। उहाँहरूको दानमुठीबाटै खर्च जुटिरहेको छ। कसैले आफ्नो जन्म दिनमा त, कसैले आफन्तको पुण्य तिथिका अवसरमा यहाँ आएर सहयोग गर्नुहुन्छ।’
स्वास्थ्य कर्मीसंघ डोटी कोषाध्यक्ष समेत रहेका बलायरले यसअघि पनि आफ्नो गाउँ–ठाउँमा लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
२०७३ असार देखि दृष्टि फाउन्डेसन सञ्चालनमा आएको हो ।

