

भदौ ४ गते ,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक सम्पन्न भएको छ ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक सम्पन्न भएको हो ।
बैठकमा सहभागी अधिकांश सूचना अधिकारीहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सूचनाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा दिन मिल्ने सूचना कुनै कन्जुस्याइँ नगरी दिने सहभागीहरूले बैठकमा बताएका थिए । तर केही सूचना अधिकारीले सूचना पाउन आफूलाई पनि गाह्रो हुने गरेको उक्त बैठकमा तितो यथार्थ पोखेका थिए ।
उक्त बैठकमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले प्रशासनले थालनी गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक महत्त्वपूर्ण रहेको बताए ।
विगतमा सञ्चारकर्मीले सूचना माग गर्दा महिनौँ दिन कुर्नुपर्ने बाध्यता यस्ता बैठकले केही मात्रामा भए पनि समाधान हुने बताए । सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठकमा बोल्दै अध्यक्ष बमले भने ,’ पछिल्लो समय सूचना आदानप्रदानको लागि निर्माण गरिएको पत्रकार र प्रहरीको ग्रुप निष्क्रिय भएको, सबै पालिकाका सूचना अधिकारीको उपस्थिति अझै हुन नसकेको, सूचना अधिकारी र पत्रकारको ग्रुप निर्माण ढिलाइ भएको , वेबसाइटहरू अपडेट अझै हुन नसकेको , वेवसाईडहरुमा अद्यावधिक गरी नियमित रूपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक केही कार्यालयले प्रकाशन नगरेको , सूचना दिन अहिले पनि आनाकानी गरेको ,लागू औषध दुर्व्यसनीका घटना बढ्दै गएको र पछिल्लो समय जिल्लामा सार्वजनिक सम्पत्ति माथि भएका तोड फाेडका घटना रोक्ने कार्यमा लाग्नु पर्ने कुरा जोड दिए ।’
पछिल्लो समय भ्रामक सूचना र अफवाह फैलाउने कार्य बढेकाले यस्ता कार्यलाई नियमन गर्नुपर्ने , समाचार लेखेका कारण पत्रकार माथि दिइने धाक धम्कीलाई रोक्नुपर्ने लगायतका विषयमा समेत बमले जोड दिएका थिए ।

त्यस्तै बैठकमा बोल्दै पत्रकार रामहरि ओझाले समाचार तयार गर्दा स्रोत व्यक्तिहरू बोल्न आनाकानी गर्ने, वेबसाइटमा अद्यावधिक सूचना नपाइने, र सूचना माग्दा केही कार्यालयले अझै पनि कन्जुस्याइँ गर्ने गुनासो गरे।
त्यस्तै बैठकमा बोल्दै प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवरले सूचना अधिकारी सूचनाका विषयमा सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रस्ट हुन जरुरी रहेको बताए । उहाँहरू सूचनाका विषयमा सन्तुष्ट र पोख्त भए मात्र संञ्चारकर्मिले सहज सूचना पाउने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सबै सार्वजनिक निकायका वेबसाइटहरू अद्यावधिक गरी नियमित रूपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरूलाई निर्देशन दिए ।
बैठक औपचारिकता पुरा गर्नका लागि मात्रै नभएर बैठकमा भएका निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन उनले जोड दिए।
सूचना अधिकारीहरूले गरेको अद्यावधिक विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत निर्देशन दिए ।
छैटौँ पटक बैठक बसिसकेको बताउँदै आगामी बैठकमा भएका निर्णयको कुनै बहानामा कार्यान्वयन नभएको पाइएमा छुट नहुने बताए ।
सूचना आधिकारिक र सञ्चारकर्मी सँगै एउटै ठाउँमा सहभागी गराउँदा गुनासो समयमै समाधान हुने र सूचना आम जनमानसमा चाडै पुग्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय डोटी आयोजनामा सूचना अधिकारी तथा सञ्चार कर्मीको नियमित छैटौँ पटक बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी जोशीको अध्यक्षतामा बसेको बैठकमा सेवा प्रभावकारिता, सूचनाको हक कार्यान्वयन लगायत जिल्लाका विभिन्न सरोकारका विषयमा छलफल गरिएको थियो ।