


शीर्षक: मनकी रानी
डिल बहादुर महरा
।१।
तिमी फूल सौन्दर्य चम्पा चमेली
सदा चम्किलो घाम जस्तै उजेली ।
मिठो भावना कोइलीतुल्य बोली
सधैँ चित्त रम्ने व्यथा लाख खोली ।।
।२।
खुबै सुन्दरी कल्पनाकी परी हौ
अझै कान्तिमा शान्ति रोज्ने चरी हौ ।
उसै रूप सादा सुसंस्कार बानी
झुके लाख तारा लुके लाज मानी ।।
।३।
हियोमा खुसीका सयौँ छन् कहानी
छ त्यो चेहरामा सुनौलो बिहानी ।
तिमीभित्र भेटिन्छ पीयूष धारा
भुले चेहरामा खुलेका सितारा ।।
।४।
तिमी सिर्जना मञ्जरी प्रेम खानी
भयो भाग्यरेखा अझै भाग्यमानी ।
मिठो भावनाभित्र संवाद खुल्छ
सबै कष्ट भुल्दै सधैँ चित्त फुल्छ ।।
।५।
हटोस् दूर चिन्ता हियो एक पारी
बनोस् जिन्दगी जोसिलो लाभकारी ।
मिलोस् भव्य हाँसो जुनी लाखलाख
तिमीसङ्गको साथ नै स्वर्ग काख ।
।६।
कहानी सधैँ प्रेमकै लेख्न पाऊँ
कथामा खुसी साँच्चिकै देख्न पाऊँ ।
जुनी लाख काट्ने म बाचा सजाऊँ
तिमीमै हराऊँ खुलेरै रमाऊँ ।।

