

जेठ ३०गते,डोटी : दिपायल-पनेताेला-चाँसी-हलिखाेला-अमरखाेला सडक खण्डको ट्रयाक ओपन गरिएको छ ।
बिहीबार संविधान सभा सदस्य भरत बहादुर खड्काले एक कार्यक्रमका बिच ट्रयाक ओपनको रिवन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता तथा संविधान सभा सदस्य खड्काले समाजको एकतामा ठुलो तागत हुने बताएका छन् । लामो समय देखि उक्त सडकको ट्रयाक ओपन नहुँदा त्यहाँका स्थानीयहरूले समस्या झेल्दै आएको बताउँदै ट्रयाक ओपनले अब केही सहज हुने बताए । जिविस सभापति हुँदा देखि यो सडकको ट्रयाक खोल्न लागेको भए पनि विभिन्न कारणले उक्त समयमा सम्भव नभए पनि अहिले ट्रयाक ओपन आफूले गर्न पाउँदा उनले खुसी व्यक्त गरे ।

सडक भन्ने कुरा एक पटक उद्घाटन गरेर मात्र समाधान नहुने भन्दै यसको स्तरउन्नोतिमा निरन्तर लाग्नु पर्नेमा जोड दिए।
त्यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले ट्रयाक ओपनले त्यहाँ स्थानीयहरूमा ठुलो राहत पुग्ने बताए । मानव जीवनका लागि अति आवश्यक रूपमा सडक ,बाटो घाटाे रहेको बताउँदै आगामी दिनमा सडक निर्माण सहयोग रहने विश्वास व्यक्त गरे । ट्रयाक ओपन गर्न सहयोग गर्ने जग्गादाता ,जग्गा धनी लगायत सबैमा नगर प्रमुख खड्काले धन्यवाद दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महासमिति सदस्य जित बहादुर खड्काले लामो समयको प्रयास पछि ट्रयाक ओपन गर्न पाउँदा निक्कै खुसी लागेको बताए । निःशुल्क रूपमा नगर प्रमुख नेतृत्वमा आफूहरू सँग भएका सवारी साधनको प्रयोग गरेर २ किलोमिटर सडक ट्याक ओपन गरेको खड्काले बताए । दिसिनपा नगर प्रमुखले गरेका राम्रो कार्यका बारेमा हामीले प्रचारप्रसार गर्न नसकेको उनले बताए । जनताका हरेक सुख दुःखमा निरन्तर साथ सहयोग रहने खड्काले प्रतिबद्धता व्यक्त गरे ।
दिपायल सिलगढी नगरपालिका -२ का वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले विगतमा सडक नहुँदा वडा वासीले निक्कै समस्या झेल्दै आएको बताउँदै सबैको साथ सहयोगले ट्रयाक ओपन गर्न पाउँदा खुसी व्यक्त गरे । ट्रयाक ओपनले यहाँका स्थानीयहरूले उत्पादन गरेका सामग्रीहरू बजार सम्म पुर्याउन र विरामा हुँदा जनताले झेल्नुपरेको समस्यामा केही राहत पुग्ने उनले बताए ।
ट्रयाक ओपन कार्यक्रममा जग्गादातालाई समेत सम्मान गरिएको थियो । उक्त उद्घाटन कार्यक्रममा जनप्रतिनिधि ,राजनीतिदल, नागरिक समाज, पत्रकार , जग्गादाता लगायतको उपस्थिति रहेको थियो ।

