

जेष्ठ २३,डोटी: शिखर नगरपालिकाअन्तर्गत माध्यमिक विद्यालयहरूमा तालिमप्राप्त खेलकुद शिक्षक खटाइएको छ । नगरपालिकाले २४ शिक्षकलाई ५ दिने खेलकुद तालिम दिएर विद्यालयमा खटाएको हो । विद्यालयमा कार्यरत शिक्षकलाई खेलकुदसम्बन्धी ५ दिने क्षमता विकास तालिम दिइएको हो ।
नगरपालिकाअन्तर्गतका माध्यमिक विद्यालय र कक्षा ८ सम्म सञ्चालित आधारभूत विद्यालयमा कार्यरत शिक्षकको क्षमता विकास गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको थियो ।
तालिममा एथलेटिक्स, भलिबल, कबड्डी र खेलसम्बन्धी प्रशासनिक तथा व्यवस्थापकीय पक्ष सम्बन्धी तालिम दिइएको थियो । ५ दिनसम्म सञ्चालित उक्त तालिममा ३ जना छुट्टाछुट्टै विधाका प्रशिक्षकको व्यवस्था गरिएको थियो । क्षमता विकास तालिममा नगरका २४ जना शिक्षकहरूको सहभागिता रहेको थियो । क्षमता विकास तालिममा खेलका सैद्धान्तिक र व्यावहारिक पक्ष, नियम, एक्सरसाइजलगायतका पक्षहरू समेटिएको थियो । सहभागी शिक्षकलाई अभ्याससहितको तालिम दिइएको थियो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले तालिमप्राप्त शिक्षकको काँधमा शिक्षा सँगसँगै खेलकुदको माध्यमबाट पनि विद्यार्थीलाई अनुशासित र लगनशील बनाउने जिम्मेवारी थपिएको बताए ।
नगर उपप्रमुख सुनीता रावल जोराले पढाइसँगै विद्यार्थीका लागि खेलकुद पनि आवश्यक भएको महसुस गर्दै तालिम आयोजना गरिएको बताइन् । बालबालिकामा पछिल्लो समय घरभित्रै बसेर डिजिटल खेलहरू खेल्ने, बाहिरी खेलहरूमा रुचि नराख्ने प्रवृत्ति बढिरहेको प्रमुख प्रशासकीय अधिकृत हरिन्द्रकुमार श्रेष्ठले बताए । उनले तालिमप्राप्त खेल शिक्षकले बालबालिकालाई अभ्याससहित खेलसँग जोड्ने विश्वास व्यक्त गरे ।
