

डोटी, जेठ ११ गते : नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले भ्रम र भीडतन्त्रका कारण देशको लोकतन्त्रिक व्यवस्था खतरामा परेको बताएका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै उनले पछिल्लो समय भीडतन्त्रका कारण देशको लोकतन्त्र खतरामा परेकाले त्यसको समाधानका लागि प्रमुख राजनीतिक पार्टीहरु सशक्त भएर लाग्नुपर्ने बताएका हुन् ।
“देशमा भीडतन्त्र हाबी भएको छ । देश एउटा दिशाहीन भीडले हाकिरहेको छ । देशको युवाजमात भीडले जता तान्यो त्यतै डोरिएको छ,“उनले भने,“ सामाजिक सञ्जालको प्रभावबाट नैतिक, अनैतिक व्यक्तिहरुले अभियान सञ्चालन गर्ने, भीड जम्मा गर्ने र राम्रा कुराहरुलाई पाखा लगाएर आफ्ना कुराहरु लाद्ने प्रवृति मौलाएको छ । देशलाई यो भीडबाट जोगाउन नेपालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि योगदान दिएका प्रमुख शक्तिहरु एक ठाउँमा उभिएर सशक्त रुपमा प्रतिवाद गर्न जरुरी छ ।”
देशको संविधानमा परिकल्पना समेत नगरेको राजतन्त्र फर्काउछु भन्ने, अराजक स्वार्थ समुह बनाउने, अनेक किसिमका भ्रम फैलाएर भीडजम्मा गर्ने, लोकतन्त्रका विरुद्ध धावा बोल्ने गतिविधिहरु भैरहेका प्रति नेपाली जनताहरु सचेत रहनु पर्ने नेता विष्टले बताए ।
देशमा विकास भएन भन्ने कुरा भ्रम मात्रै भएको उहाँले बताउनु भयो । २०४६ साल पछि देशमा थुप्रै विकास निर्माणका कामहरु भएका छन् । देश विकास निर्माणमा अघि बढेको छ । गाउँगाउँमा, टोलटोलमा बाटाघाटा, स्वास्थ्य, शिक्षा, बिजुली, पानी लगायतका सबै आधारभूत आवश्यकताहरु पुगेका छन् । त्यो क्रम जारी नै छ । तर हामीहरुले जनताहरुलाई त्यो कुराको डेलिभरी दिन सकेका छैनौं,“उनले भने ।
रातारात उदायका पार्टीहरु र सामाजिक सञ्जालले नेपालका ठुला पार्टीहरु, नेताहरु प्रति गलत र नकारात्मक भ्रम छरेर भीड जम्मा गर्ने गरेको उनले आरोप लगाए । देशका प्रमुख पार्टी, नेता, कर्मचारीहरु सबै भ्रष्टाचारी हुन्, यिनिहरुले देशलाई लुटेको छ, बर्बाद गरेको छ, देशको विकास गर्न सक्दैनन्, केही पनि गरेनन्, देशलाई यिनिहरुबाट जोगाउनुपर्छ भन्ने भ्रम छरिएको छ, यो एकदमै चुनौतीपूर्ण छ,“उनले भने ।
युवा मतदाताहरुमाझ विभिन्न भ्रम छरेर चमत्कारिक रुपमा देशको नेतृत्वसम्म पुग्ने, युवाशक्तिलाई भीडमा परिणत गर्ने खालका गतिविधि हुनु चुनौतिको षियय भएको नेता विष्टले बताए । उनले यसरी छरिएको भ्रम र जम्मा भएको भीडले देशलाई गलत बाटोमा डो¥याउन सक्ने बताउँदै यस्ता गतिविधिबाट लोकतान्त्रिक व्यवस्था नै खतरामा पर्ने भएकाले भ्रम चिर्नका लागि पार्टीहरु सशक्त भएर लाग्नु पर्ने बताए ।
नेपाल–अमेरिका जनसम्पर्क समितिका सभापति समेत रहेका विष्ट पछिल्लो समय गृह जिल्ला डोटीको भ्रमणमा छन् ।
