

वैशाख २४, डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । बुधवार एक कार्यक्रमका बिच वडालाई गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरेका हुन् ।
वडाका १५ महिना मुनीका ३७ जना र १६ महिनादेखि ५९ महिनासम्मका ९८ जनालाई पूर्ण खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको चवरा चौतारा स्वास्थ्य चौकीका प्रमुख प्रकाश विकले जानकारी दिए । खोप पाउनुपर्ने बालबालिकाले सबै खाले खोप लगाएको निश्चित गर्न प्रत्येक वर्ष घोषणा गर्नुपर्ने नियमित प्रक्रिया अन्तरगत आवश्यक मापदण्ड पुरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको विकले बताए । कार्यक्रममा खोप अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिनियर अनमी यशोदा उपाध्याय र अहेव नितु यादवलाई सम्मान गरिएको पनि स्वास्थ्य चौकी प्रमुख विकले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिला, उपाध्यक्ष विस्ना देउवा बम, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । सात ओटा वडा रहेको पालिकामा यसअघि वडा नम्बर १ सिमचौर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भइसकेको छ । वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि पालिकालाई पनि घोषणा गरिन्छ ।
