

वैशाख १७ गते,डोटी : डोटीमा एक जना महिलाले २३ वर्ष पछि अपंगता परिचयपत्र पाएकी छन् ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका -५ धिर्कामाण्डाै घर भएकी इसरा बोहराले अपंगता भएको २३ वर्ष पछि परिचयपत्र पाएकी हुन् ।
बुधवार गाउँपालिका उपाध्यक्ष विस्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा गएर ‘क’वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।
स्थानीय सरकारले पालिका भित्र रहेका अशक्त,असहाय तथा सेवाबाट वन्चितरहेकाहरुको खोज तलास गरेर अपाङ्गता परिचय वितरण लगायतका सेवा दिने गरेको उपाध्यक्ष बमले बताइन् ।
अपाङ्ग भएका व्यक्तिले आफ्नो हक अधिकार सुनिश्चित गर्न परिचय पत्र वितरण गरेको उनले बताइन् ।
घरमा आएर छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी र अपंगता परिचयपत्र पाउँदा निक्कै खुसी लागेको उनका बुवा वीर बहादुर बोहरा बताए । लामो समय देखि अशक्त छोरीको परिचय पत्र बनाएर सहयोग गरेकोमा उनले स्थानीय सरकार लगायतलाई धन्यवाद दिए ।
परिचय पत्र वितरण कार्यक्रममा उपाध्यक्ष बम, वडा नम्बर -५का वडा अध्यक्ष राम बोहरा, शिक्षा शाखा प्रमुख चेतराज बिनाडी, कम्प्युटर अपरेटर उत्तम साउँद , चवरा चौतारा स्वास्थ्य चौकीमा कार्यरत डाक्टर सन्जित यादव,प्रहरी लगायत उपस्थिति रहेको थियो ।
