

सरिता कठायत,वैशाख १६ डोटी: डोटीमा नियम विपरीत सवारी साधन चलाउनेलाई कानुनी दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताएका छन् ।
जिल्लामा यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको सम्बन्धमा सरोकारवालाहरू सँग मङ्गलवार जिल्ला प्रशासनको सभा हलमा बैठक बसेको प्रमुख जिल्ला अधिकारी जोशी यस्तो बताएका हुन् ।
मानिसको जीवन माथि खेलबाड गर्ने अधिकार नभएको भन्दै नियम विपरीत यस्ता खाले जोखिमपूर्ण कार्य नगर्न जोशीले अनुरोध गरे ।
ट्राफिक नियम छलेर सवारी चालकहरूले भाडा वृद्धिदर,क्षमता भन्दा बढी मान्छे राख्ने, आवश्यक कागजातहरू समेत नबोकेर हिँड्ने जस्ता कार्य बढ्दै गइरहेकोले जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवस्था कार्यालय सँग आवश्यक समन्वय गरेर कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।
सवारी साधनलाई नियम विपरीत चलाउनेहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याउनका लागि आफूहरूको टिम सक्रिय भूमिका निर्वाह गर्ने प्रहरी वरिष्ठ नायब उपरीक्षक सुरज खड्काले बताए ।
सवारी चालकहरूलाई बारम्बार मिटिङ्गमा बोलाउँदा समेत उपस्थित नहुने गरेको सार्वजनिक शैलेश्वरी यातायात प्रालिका उपाध्यक्ष केपी माझीले बताए ।
लामो समयसम्म गाडीको कर नतिरेर पनि गाडी सञ्चालनमै रहेको समेत उनले बताए ।
उक्त बैठकमा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
