

राज पार्की , चैत १९,डोटी: आर्थिक भार थेग्न नसकेपछि डोटीका मिडियाहरू आर्थिक संकट झेली रहेका छन् ।
नेपाल पत्रकार महासंघ डोटीले आयोजना गरेको पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले जिल्ला प्रशासन कार्यालय डोटीमा २७ वटा पत्रपत्रिका दर्ता भए पनि आर्थिक भार थेग्न नसकेर पाँच वटा मात्रै प्रकाशनमा रहेकोमा त्यस मध्ये केही मात्र नियमित प्रकाशनमा रहेका आधार पत्रमा प्रस्तुत गरेका थिए ।
डोटीमा रेडियो नेपाल सहित सातवटा एफएम छन् त्यसमध्ये एउटा रेडियो आर्थिक अभावले बन्द भइसकेको छ भने सञ्चालनमा रहेका अन्य एफएमहरू पनि रुग्ण अवस्थामा छन् । पछिल्लो समय आर्थिक अभावले गर्दा रेडियो बिक्री गर्ने बन्द गर्ने वा मर्ज गर्ने अवस्थामा पुगेका छन् ।
त्यसै गरी अनलाइन पनि मुस्किलले ५० प्रतिशत मात्र नियमित प्रकाशन प्रसारणमा छन् । आर्थिक संकट नै चल्न नसकेर कतिपय नवीकरण नभएका दर्ता नभएका कर चुक्ता गर्न नसक्ने अवस्थाले निष्क्रिय छन् ।
आर्थिक अभावकै कारण डोटीका सञ्चारमाध्यममा एउटै व्यक्तिले हकर, सम्पादक, मार्केटर, प्राविधिक, समाचार वाचक, डिजाइनर देखि रिपोर्टर हुनुपर्ने अवस्था छ । तर आर्थिक अभाव झेली रहेका सञ्चारकर्मी अझै पनि जन समुदायमा विश्वसनीय हुन सकेका छैनन् ।
मंगलबार जिल्ला समन्वय समिति डोटीमा भएको कार्यक्रममा सरोकारवालाले बढी जस्तो पत्रकार राजनीतिक आस्थाका कारण निष्पक्ष हुन नसकेको र चाकडी गर्ने प्रवृत्ति बढी उनीहरूको भनाइ रहेको छ । कार्यक्रममा पत्रकारले निष्पक्ष रूपमा जनताका दैनिक आधारभूत समस्याका बारेमा पनि लेख्नु पर्नेमा उनीहरूको जोड रहेको थियो ।
पछिल्लो समय पत्रकार माथि सामाजिक सञ्जाल मात्रै नभएर हत्या एवम् भौतिक आक्रमण पनि हुने गरेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले राज्यको चौथो अङ्ग भएकोले समाचार लेख्दा सबैलाई समान रूपमा राखेर समाचार लेख्नुपर्ने बताए । उहाँले जुन सुकै व्यक्ति पनि कुनै न कुनै पार्टीमा आस्था राख्ने हुँदा समाचार लेख्दा पार्टी भन्दा पनि घटनालाई प्रमुख आधार बनाउनुपर्ने बताए ।
कार्यक्रमको समापनमा बोल्दै पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बमले अरू जिल्लाभन्दा डोटीमा निष्पक्ष रूपमा समाचार लेख्ने गरेको भएता पनि सामाजिक सञ्जालमा विभिन्न हिंसा हुने गरेकोले त्यस्ता घटनाहरूलाई कानुनी कारबाही गर्न सरोकारवाला सबैको भूमिका आवश्यक हुनुपर्ने बताए।
अध्यक्ष बमले गत चैत्र १५ गते एभिन्यूजमा कार्यरत पत्रकार सुरेश रजकको हत्या भएको घटनामा नेपाल सरकारले निष्पक्ष छानबिन गरी उचित क्षतिपूर्ति दिनुपर्ने बताए।
पत्रकारिताको आचारसंहितामा रहेर सत्यतथ्य निष्पक्ष रूपमा पत्रकारिता गर्न आह्वान गर्नु भयो ।
आगामी दिनमा अझै डोटेली पत्रकारिताको विकासका लागि र महासंघ डोटीले अघि सारेका स्थानीय सञ्चार माध्यम पर्वधन कार्यक्रम, पुस्तकालय स्थापना, पत्रकारिता कल्याण कोष लगायतका विभिन्न अभियाममा सरोकारवालाको साथ सहयोग समन्वय, सहकार्य रहने अपेक्षा गरेको बताए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सीँ खड्का “विजय”, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा, सशस्त्र प्रहरी बल ३६ नम्बर गणका गणपति सुधीर सुबेदी, विभिन्न पार्टीका प्रमुख प्रतीनिधी, संघ सस्था प्रमुख प्रतिनिधि , लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।