

गणेश बहादुर मौनी,चैत्र ११ डोटी:डोटीको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले विद्यार्थीको चौतर्फी विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आइतबार बडीकेदार गाउँपालिका वडा नम्बर ४ को आधारभूत तह कक्षा १–८को पाचौं वडा स्तरीय खेलकुद प्रतियोगिताको शिवजी मावि भुज्यालीमा उद्घाटन गर्दै उपाध्यक्ष विष्ट कलेलले उक्त कुरामा जोड दिएकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष विष्ट कलेलले खेलकुदले बिद्यार्थिहरुको चौतर्फी विकास गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा महत्त्वपूर्ण भूमिका रहेको समेत बताइन् । खेलकुदलाई प्रवर्द्धन गर्न पालिका जहिले पनि सकारात्मक रहनुका साथै जुन सुकै तहको खेलकुद प्रतियोगितामा पालिकाले सहयोग गर्दै आइरहेको समेत बताइन् । प्रतियोगितामा खेलाडीहरू अनुशासित सभ्य हुन आवश्यक रहेको समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।
हरेक बिद्यार्थिहरु भित्र केही न केही प्रतिभा हुन्छ त्यसलाई बाहिर ल्याउन आवश्यक रहेको कार्यक्रमका विशिष्ट अतिथि एवं बडीकेदार गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताएका थिए । खेलकुदको माध्यमले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने समेत शाखा प्रमुख देउवाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवाल निकायहरूले स्थानीय सरकारले खेलकुदको प्रवर्द्धन गर्न जोड दिनुका साथै पालिका स्तरमा रहेका खेलाडीहरूलाई सम्मान समेत गर्नुपर्ने बताएका थिए ।
खेलकुद कार्यक्रमले विद्यार्थीको शारीरिक ब्यायममा सहयोग पुर्याउनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रमका सभाध्यक्ष एवं शिवजी माध्यामीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर मन्नीले बताए । खेलकुद कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको र सहयोग गर्न आग्रह समेत गरेका थिए ।
वडा स्तरीय आधारभूत तह खेलकुद प्रतियोगिता १–३ तह अन्तरगत चित्रकला, सुर्तिलेखन, हिसाब दौड, डोरी खेल ४–५ तह अन्तरगत एक सय मिटर दौड,हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता ६–८ तह अन्तरगत हाजिरी जवाफ, चार सय मिटर रिले दौड, भलिबल, ज्याप्लीङ थ्रो, सटपट र १–८ तह अन्तरगत सास्कृतीक कार्यक्रमहरू रहेको बडीकेदार गाउँपालिका खेल प्रशिक्षक शिक्षक प्रकाश मौनीले बताए ।
तिन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा वडा नम्बर ४ अन्तरगतका ६ वटा विद्यालयको सहभागिता रहेको छ । खेल १२ गते सम्म सञ्चालन हुने भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार स्थानीयको सहभागिता रहेको थियो ।