

फागुन ११ गते डोटी : कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा ओखरमा ‘टप ओर्किङ अभियान सुरु’ गरेको छ ।
जिल्लामा हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अगाडी बढाइएको हो ।
कृषकहरूले विजु दाँते ओखर लगाएको तर फल लाग्ने बेला उक्त ओखर हाडे निस्किदा खिन्न भएका किसानको मनलाई हर्षित पार्न ओखरमा टप वर्किङ गर्ने अभियान सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।

हाडे ओखरलाई काटेर उक्त ठुलो बोटमा दाँते ओखरको हाँगा जोड्ने प्रक्रिया नै टप वर्किङ भएको उनले बताए ।
हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसमा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् । यसरी टप वर्किङ गरेको हाँगा वाट २-३ वर्षमै फेरि दाँते ओखर फल्ने उनले बताए ।
दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले गत वर्ष देखि ‘टप ओर्किङ’ गर्न सुरुवात गरेको र यस वर्ष अभियानकै रूपमा अगाडी बढाइएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अवस्थीले जानकारी दिए । डोटीका स्थानीय तह तथा कृषकहरूले हाडे ओखर दाँते बनाइदिन आवेदन पेस गरे बमोजिम जिल्लाका विभिन्न पालिकामा गई कृषकको वारिमै स्थलगत रूपमै विज्ञ द्वारा टप वर्किङको काम सिकाइएको समेत उनले बताए ।

कृषि अनुसन्धान परिषद्, जुम्लाबाट २ जना विज्ञ र सुक्खा फलफूल विकास केन्द्र सत बाँझ बैतडीबाट १ जना विज्ञलाई डोटीमा बोलाई उक्त कार्य सञ्चालन गरिएको हो । यस कार्यलाई अगामी वर्षहरूमा पनि निरन्तरता दिइने कार्यालय प्रमुख अवस्थीले बताए ।
