

फागुन ९ गते ,डोटी : सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र डोटीले विभिन्न हिंसाबाट प्रभावित महिलाहरूका लागि गरिएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
बिहीबार सिलगढीमा एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।
समापन कार्यक्रमलाई बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सिंहले आत्मनिर्भर तथा स्वरोजगार बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायी रूपमा अँगालेमा छोटो समयमै आर्थिक समस्या समाधान हुने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले बताए। उनले आयआर्जन हुने यस्ता तालिमले धेरैको जीवनस्तरमा परिवर्तन ल्याएको औँल्याए।
तालिममा सहभागी ७ जना महिलालाई टिका र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । तालिममा सहभागीलाई एक थान सिलाई कटाई मेशिन समेत प्रदान गरिएको थियो । ३ महिने तालिममा लता जोशीले प्रशिक्षण दिएकी थिइन् ।
समापन कार्यक्रम जिल्ला समन्वय उप प्रमुख स्मृति चुनारा,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई ,स्वास्थ्यकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमको सञ्चालन सेफ हाउस डोटीकि प्रमुख एवं मनाेविमर्शकर्ता बन्दना बमले गरेकी थिइन् ।
