गीता कुँवर,अछाम-भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।
अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुदाँ समेत टिकट नदिएको भन्दै अहिलेसम्म १२२ जनाले राजिनामा दिएका छन् । ४१ जना जिल्ला कमीटी सदस्य र ८१ जना नगरकमीटीका पदाधिकारी सदस्यहरुले पदबाट राजिनामा दिएका हुन् ।
क्षेत्र नं १ क्षेत्रिय निर्वाचन कमीटी संयोजक तथा जिल्ला सचिवालय सदस्य प्रकाश शाह,उपसंयोजक केशर मियाँ,जिल्ला कमीटी सदस्य दुतकला बिष्ट,बालगिरी कुँवर,टंक रावल लगायत १२२ जना नेताहरुले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुल राजिनामा दिएको निर्वाचन कमीटी संयोजक प्रकाश शाहले बताए ।
उनले भने, ‘यहाँको कार्यकर्ताको मनोबल गिराउने काम भयो ,भीम रावलको बिकल्प खोज्ने जुन काम पार्टीले गरेको छ, यसका बिरुद्ध हाम्रो संघर्ष हो । पदबाट राजिनामा गरेका छौं,पार्टी परित्याग गर्देनौ,यहि पार्टी भित्र बसेर अन्तरसंघर्ष गर्नेछौं।’ पार्टीका अन्य नेताहरुले राजिनामा दिने क्रमपनि चलिरहेकाले संख्या बढ्न सक्ने बताएका छन् ।
गत भदौ १९ गते बसेको क्षेत्रिय निर्वाचन समन्वय समतिको बैठकले अछाम क्षेत्र नं १ बाट सर्बसम्मत रावलको एकल नाम गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् ।
केन्द्रको निर्णयको विरुद्ध बिद्रोह गर्न राजिनामा दिएको साँफेबगर नगरकमीटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए । उनले भने,‘नगरकमीटीका ८१ जनाले राजिनामा गरेका छौं,अरुको समेत आउदै छ राजिनामा ।’ ओलीले रावलको क्षेत्रमा भपट बोहरालाई टिकट दिएका थिए ।
बोहरा नेकपा माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका हुन् । पार्टीको १०औं महाधिबेशबाट सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनालाई रावलले चकनाचुर पारी दिएपछि ओली रावल प्रति झनै नकारात्मक देखिएका थिए ।