
माघ ९ गते ,डोटी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले आयोजना गरेको २४ औँ सशस्त्र प्रहरी दिवस सम्पन्न भएको छ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी सशस्त्र प्रहरी बलको परिसर दिपायलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
दिवसको अवसरमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिवसको सम्पूर्ण शुभकामना व्यक्त गरे।
नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न, द्वन्द्व नियन्त्रण, बिपद र सीमा अपराध नियन्त्रणमा सशस्त्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै दिवसका अवसरमा बोल्दै सुदूर पश्चिम प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्लिमगरले दिवसको शुभकामना दिँदै सशस्त्र प्रहरी, नेपाल प्रहरीको साझा उद्देश्य एउटै भएको बताए ।
राज्यले दिएको अधिकारको उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध रहेको समेत उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण योगदान दिएको बताए ।
राज्यले दिएको अधिकारको प्रयोग गर्दै जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरी निरन्तर अगाडी बढिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुधीर सुवेदी बताए ।
हेड क्वाटरले गर्ने कार्य तथा दिवसलाई सफल बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद व्यक्त गरे।
स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न प्रतियोगितामा स्थान हाँसिल गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने, प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
टेवल टेनिस तर्फ सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर कार्कीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
त्यस्तै ब्याडमिन्टन तर्फ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेल र सशस्त्र प्रहरी वरिष्ठ हवल्दार केशवराज जोशी सम्मान तथा नगद पुरस्कार वितरण गरिएको छ ।
त्यस्तै उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कार अन्तर्गत सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर कार्की ,सशस्त्र प्रहरी वरिष्ठ हवल्दार विनोद कुमार मगर,सशस्त्र प्रहरी हवल्दार दल बहादुर बोहरा, सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश कुमार विष्ट ,सशस्त्र प्रहरी सहायक हवल्दार विनोद कुमार कडायत ,सशस्त्र प्रहरी जवान गंगा दत्त जोशी र सशस्त्र प्रहरी परिचर किरण बि.क. प्रदान गरिएको छ।
वीरगति प्राप्त तथा भु.पु. पुरस्कार प्रशंसा पत्र स्व.सप्रसह शालिभान ठकुल्लाका श्रीमती जेडी देवी ठकुल्लालाई प्रदान गरिएको छ ।
गणको आन्तरिक तथा बाह्य काम कारवाहीमा अतुलनिय सहयोग गरेको भन्दै जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीका प्रमुख ई. सुविक श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी वरिष्ठ उपरीक्षक पल्लिमगर, प्रहरी उपरीक्षक शर्मा,भैरव प्रसाद गणका गणपति परीक्षित देउजा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुवेदी , राष्ट्रिय अनुसन्धान कार्यालय प्रहरी नायब उपरीक्षक महेश अवस्थी,जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम, दिसिनपा -४ वडा अध्यक्ष अशोक सोप, गणमा कार्यरत सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
गणले दिवसका अवसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम गरेको गणपति सुबेदीले बताए ।