
नर बहादुर कार्की कथा : अटाे रिक्सावाला
धनगढी चौराहामा रोकियो हाइस ।
“झराैं है झरौं…।”
कन्डक्टरले हाइसको ढोका घर्कायो । यात्रुहरु आफ्ना आफ्ना झोलाझिम्टा बोकेर झरे । म पनि झर्नेमा परेँ । हाइस वरिपरि अटोरिक्साहरुको लाइन लाग्यो ।
“बसौं हजुर । बसौं…।” अटो रिक्सावालाहरु मान्छे तानतान गर्न थाले ।
“काँ जाने होला हजुर ?” एउटा अटो रिक्सावालाले मलाई पनि सोध्यो ।
“मटियारी ।”
“बसौं हजुर ।” उसले मेराे हातको पोको समात्यो ।
“भाडा कति हो ?”
“दुई सय ।”
“एक सय पचास दिउँला ।”
“एक सय असी दिनुहोला ।”
“हुन्छ ।”
उसले पाेकाे आफ्नाे रिक्सामा राख्यो । रिक्सा स्टार्ट गर्याे । धनगढीको व्यस्त मेनरोडका रिक्साहरुको भिड माझँमा आफ्नो रिक्सा कुदायो उसले । पाँच मिनेटमै एलएन चौकबाट भित्रतिर रिक्सा मोड्यो । धनगढी उप-महानगरपालिका कम्प्लेक्स अगाडिको किराना पसलमा रिक्सा रोक्यो ।
“थोरै सामल किन्नु छ हजुर ।” ऊ रिक्साबाट उत्रियो । सँगसँगै म पनि उत्रिएँ । मैलेपनि बालबच्चाका लागि खानेकुरा किन्नु थियो । ऊ पसल अगाडि उभियाे ।
“साहुजी, मोटो चामल कसरी छ ?” उसले पसलेलाई सोध्यो ।
“कट्टाको २२ सय ।“
“नुन ?“
“३० रुपैयाँ“
“तेल ?“
“१५०“
“चिनी ?
“१००”
“साहुँजी, रेट मिलाएर दिनु पर्यो हजुर ।“
“रेट मिलाइरै भनेको । किराना सामानमा केही फाइदा छैन हजुर ? ग्राहाकहरु व्यापारीसँग गुनासो गर्छन् । रेट माथिबाटै बढेर आउँछ । कहिले कहीँ त सामानाहरु बढेकै रेटमा पनि पाउँन गाह्रो छ ।”
“यस्तै छ ।” रिक्सावालाले पसलेको भनाइमा समर्थन जनायो ।
“एक कट्टा मोटो चामल, दुई पोका तेल, दुई पाकेट नुन, दुई किलो चिनी दिनु पर्यो हजुर ?” उसले सामल अर्डर गर्यो ।
पसलेले भने अनुसार सामल जम्मा गरे । बिल बनाए । बिल सताइस सय साठीकाे बन्यो । उससँग पचिस सय मात्र थियो ।
“मसँग पचिस सय मात्र छ । पैसा पुगेन साहुजी ।”
“के गर्ने ?”
“नुन, तेल, चिनी घटाउनु पर्याे ।”
“हुन्छ ।”
पसलेले एक पाकेट नुन, १ पाेका तेल, १ किलाे चिनी निकाले । चाैविस सय नब्बेकाे सामल भयाे । पैसा बुझायाे । उसकाे खल्टीमा मात्र दस रुपैयाँ बाँकी रह्याे । उसले चामलकाे कट्टा, नुन, तेल, चिनी रिक्सामा राख्याे । मैले केटाकेटीका लागि खानेकरा किनें । रिक्सामा बस्याैं । रिक्सा स्टार्ट गर्याे उसले । ठाउँठाउँ परेका खालेटाखुल्टी तथा कच्ची राेडमा पनि उसले जनताका साथ रिक्सा कुदायाे । साधारण पहिरन, अधबैसे उमेर, मलिन मुहार भएको ऊ मलाई आफ्नै गाउँको दाइभाइजस्तो लाग्यो । उसको बारेमा जान्न मन लाग्यो ।
“तपाईँको घर कता हो दाइ ?” मैले सोधेँ ।
“जाली ।” उसले भन्याे ।
“पहाडघर ।”
“डोटी ।”
“धनगढी कहिले आउनुभएकाे ?”
“तीन बर्ष भयो ।”
“रिक्सा चलाउन लागेको ?”
“छ महिना ।”
“ए ।” एक मिनेट माैन बसेँ ।
“मालपहाड काँ ठिक लाग्यो दाइ ?” मैले फेरि साेधेँ ।
“पहाडै ठिक थ्यो हजुर । जहान छोराछोरी पाल्न खासै अप्ठेरो थिएन । गाई पालेको थिएँ । दुध खान पाइकै थियो । पाँच छ किला बाख्रा पालेकै हुन्थे । आठ दश रोपनी जमिन थियो । खान पुगेकै थियो । आरीबारीमा साग तरकारी फलाएकै थिएँ । बाल बच्चालाई लुगा कपडा ज्याला मजदुरी गरेर चलाएकै थिएँ । मर्दाको मलामी जिउँदाको जन्ती समाज थियो । दाजुभाइ, छरछिमेकीको आड भरोसा थियो । ठन्न हावा, चिसो पानी थियो । के नखाने लागेर यता आइयो हजुर ।” उसले निरास हुँदै भन्याे ।
“यता पनि राम्रै होला त ?”
“केको राम्राे हुनु हजुर । बाउला दुःख छन् । हजुरले देखिहाल्नु भयो । सामल किन्न समेत पैसा पुगेन । चार बालबच्चा र दुई बुढाबूढी गरी छ जनाको परिवार छ मेरो । बालबच्चा स्कुल जान्छन् । उनीहरुलाई कापी किताब जुटाउन धौधौ परेको छ मलाई । समस्या नै समस्याले जेलिएकाे छ मेराे जिन्दगी । बेहाल छन् हजुर ।” मनभरि भरिएको पिडाको पोका फुकाउन शुरु गर्याे उसले ।
“किन यता आउनु भाे त दाइ ?”
“अरे हजुर अर्काको लहैलहमा लागेँ । तराइँतिर घर छ, मालपहाडको दोघरी हो भनेपछि हुनेखाने रहेछ भन्ने हुने पहाडतिरकाे साेचाइ । मालबाट आएको मान्छे कथम कदाचित घरमा पाहुना लागि हाल्योभने पनि चटैसम्म बिछ्याएर सम्मान दिइने चलन । तराईँतिर बसोबास भएका भनेपछि इष्टमित्र बनाउने लालसा पनि धेरैले राख्ने । अझै पहाडतिर तराई भनेपछि हुरुक्कै हुने लहर नै चलेकाे छ । मैले पनि आफ्नो प्रायोरिटी तराईमा घडेरी जाेड्नुलाई बनाएँ । जसरी भएपनि तराईँमा पाँच दश धुर भएसम्म नम्मरी, नभए ऐलानी, ऐलानी पनि खाेला, जंगलकै किनारा भएपनि घडेरी जग्गा किनेर तराइँतिरै बस्ने योजना बनाएँ । याेजना मुताविक भएभरको खेतपात बेचेँ । आरिबारी बेचेँ । घरघडेरी बेचेँ । भएन रिणदान पनि थपेँ । जायजेथा गरेर दश लाख जम्मा गरेँ । शहर पसे ।
जालीको जंगल किनारमा छ लाखमा दश धुर ऐलानी जग्गा खरिदेँ । बचेकाे चार लाख टिनको छाना, खानेपानी, शौचालय, बिजुलीबत्ति जोड्न खर्चे । सानाे गाेठ बनाएँ । एक भैसी किनेर दुध लगाएँ । एक बाख्रो किने र पाले । जसोतसो खर्च धाने । हिउँकाे महिना भएकाेले शुरुमा त ठिकै लाग्याे । जसाे जसाे सहनै नसकिने गर्मी बढ्याे, मच्छर बढे । चिसाे पानी खान फ्रिज भएन । चिसाे हावामा बस्न एसी थिएन । हजाराैकाे फ्रिज र एसी जाेड्ने पैसा भएन । बालबच्चा बचाउनै गाह्रो भयाे । कहिले काेही कहिले काेही विरामी हुन थाले । दिक्क लाग्याे । उपचार खर्च जुटाउन समेत धाैधाै पर्न थाल्याे । गर्मीकाे सिजनमा सहनै नसकिने गर्मी, जाडोकाे सिजनमा सहन नसकिने जाडो । पश्चातापकाे भूँमरीमा परेँ । भएन भैसीले दूध दिन छाेड्याे । बालबच्चा पाल्ने आधार केही भएन । एक हिउद काट्न र जहानबच्चाहरुलाई लुटाफाटो जोड्न पन्जाबतिर गएँ । परदेशिएको एक महिनामै गोठको तीन किला बाख्रा चोरी भयो । धान काटेको खेतमा चर्न गएको भैसी खेतबाटै चोरी भयो । चोरहरुले पानी खाने नल बाकी राखेनन् । घरको बेजोग खबर सुनेँ । पन्जाबबाट पनि फर्केर आएँ । अब केही नहुने भएपछि सहकारीको स्रोह प्रतिशत ब्याजदरमा तीन लाख रिणदान गरेर अटोरिक्सा किनेर चलाइरहेको छु हजुर । रिक्साको कमाई किस्ता तिर्न ठिक्क हुने । याे ठाउँ त हुनेखाने, धनी, जमिन्दार, राेजगारवालालाई माल रहेछ । हामीजस्ता गरिबलाई काल रहेछ हजुर ।”
“के गर्ने यस्तै छ दाइ ?”
“साह्रै बिरानो ठाउँ हजुर । आफन्त पनि पराइ हुने । मैरै घडेरी किन्दा पनि आफ्नै मान्छे दलाली लागेर दश हजार कमिन खाइदिए । यहाँ कुनै मानवीयता छैन । सीमापारिबाट विषादी प्रयोग भएका खातका खात तरकारी मात्र पाइने, अखाद्य रङ्ग मिसिएका खानेकुराकाे विगविगी, सूर्ति, चुरोठ, बिडी, सबै भन्सार छलेर भित्रिएका सामाग्रीकाे खरिद बिक्रि हुने ठाउँ रहेछ याे । स्वास्थ्य, शिक्षा सबैतिर लुट । यहाँ व्यापारीलाई दुईचार कमाइ गर्ने व्यापार चाहिएको छ । नुनदेखि सुन ब्यापारीसम्म सबै नक्कली । कम्तिमा साेडा मिसाएर दूधदही बेच्ने डेहरीहरुमा चाडवाडमा सोडा मिसाएकै भएपनि दुधपनि नपाइने । तर जाड रक्सी भने जहाँतहीँ पाइने । सरकारलाई कर उठाउन चाहिएको छ । सरकारदेखि सदनसम्म हरेकलाई स्वार्थ चाहिएको छ । जनस्वास्थ्य र सार्वजनिक सराेकार भाडमा जाए । सहरकाे विशेषता यती मात्र रहेछ ।”
“साह्रै गाह्राे छ दाइ ।”
“के गर्नु हजुर । पर्सि दशैंको दिन हो । सबैतिर रमझम छ । तर आफ्नाे भने बिहानदेखि साझसम्म रिक्सा चढ्ने ग्राहाकको खोजीमा छु । आफ्नाे त दशैं आएपछि ग्रह आएजस्ताे लाग्छ । दशैंमा मिठाेमसिनाे खानु त पर जाओस् पेटभरि खाना समेत नपाउने चिन्ता छ । । महिनाभरिको रिक्साकाे कमाइ बाह्र हजार सहकारीको किस्ता तिरेँ । केटाकेटीहरुलाई एक पैसा दशैं खर्च छैन । केटाकेटीहरु लुगाकपडा भरेर मरिहत्ते गर्दैछन् । कहाँबाट लुगा कपडा किन्ने ? साह्रै टेन्सन छ ।” उसले भन्यो । गन्तब्यमा पुग्यौं । मैले उसलाई भनेअनुसार भाडा दिए । उसले रिक्सा माेड्याे । “शुभ दशैं” शुभकामना दिदै ऊ आफ्नाे बाटाे लाग्याे ।