पुस १९ गते ,डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमका बिच वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक परीक्षणमा आर्थिक वर्ष ०८०/०८१ मा सम्पादित क्रियाकलाप एवम् उपलब्धिहरूको समीक्षा गरिएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले शिक्षा क्षेत्रमा संस्थाले राम्रो पहिचान स्थापित गर्न सफल भएको बताए ।
शिक्षा, आयआर्जन, स्थानीय पाठ्यक्रम निर्माण , बाल संरक्षणको क्षेत्रमा संस्थाले राम्रो कार्य गरेको बताउँदै जिल्लाका सबै वडामा संस्थाले आवश्यकता अनुसार कार्यक्रमलाई विस्तार गर्न सके राम्रो हुने बताए ।
संस्थाकी अध्यक्ष निर्मला राेस्याराकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका संयोजक सिंह ,दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउँद, सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली, पूर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपति खड्का, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भीम पनेरू , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्मा, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि ,पालिकाका शिक्षा शाखा प्रमुख ,शिक्षक लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए । संस्थाले सबै पालिका अन्तरगतका वडा वडामा आवश्यकता पहिचान गरेर कार्यक्रम विस्तार गर्न सके अझै राम्रो हुने सुझाव समेत दिएका थिए । सचेतनाका कार्यक्रमलाई समेत अझै जोड दिन अनुरोध गरेका थिए ।
संस्थालाई जनउत्तरदायी र जबाफदेही बनाउन वार्षिक रूपमा सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिएको संस्थाका कार्यकारी निर्देशक हेमराज जोशीले जानकारी दिए ।
सामाजिक परीक्षणमा सामुदायिक विकास केन्द्रले विभिन्न परियोजनाका उपलब्धिहरूलाई ग्यालरी प्रदर्शनी गर्नुका साथै विभिन्न शैक्षिक सामाग्रीहरू एवम् सायलमा उत्पादन गरिएको अल्लाेका झोलाहरू, दिपायलमा उत्पादन गरेको खुकुरी एवम् आरनका सामाग्रीहरू प्रदर्शनी गरिएको थियो ।
सामुदायिक विकास केन्द्र डोटीले विभिन्न ६ वटा दातृसंस्थाका सहयोगमा विभिन्न ११ वटा परियोजना आर्थिक वर्ष ०८०/०८१ मा सञ्चालन गरेको कार्यक्रम संयोजक दिनेश बमले जानकारी दिएर ।
बमका अनुसार शिक्षा क्षेत्रमा ३, महिला तथा बालबालिका क्षेत्रमा ३, आयआर्जनका क्षेत्रमा ३ तथा विपद् न्यूनीकरणका क्षेत्रमा २ परियोजना सञ्चालित छन् ।
८ करोड ७० लाख बराबरको कारोबार गरेको सडिसिका विभिन्न परियोजनाहरूमा १ सय भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।
सुदूरपश्चिम तथा कर्णालीका जिल्लाहरूमा परियोजना सञ्चालन गर्दै आएको सामुदायिक विकास केन्द्रले हरेक वर्ष सामाजिक परीक्षण गर्दै आएको छ ।
सामाजिक परीक्षण पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले गरेका थिए ।