पुस १०, काठमाडौं : नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।
रावलवल भन्छन्– कारबाही निरंकुश प्रवृत्तिको उपज
एमालेले संगठित सदस्यता खोसेपछि रावलले यसलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन् । उनले रातोपाटसँग भने, ‘यो ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । ओलीले लामो समयदेखि नै कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।’
रावलले ओली साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलान्जली दिएर आफूविरुद्ध खनिएको टिप्पणी गरे ।