मंसिर १२ गते ,डोटी :नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधवार सिलगढीमा आन्तरिक राजस्व कार्यालय डोटीको संयोजनमा जिल्ला समन्वय समितिको सभा हलमा ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ का अध्यक्ष तथा पूर्व सचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा स्थानीय स्तरमा राय तथा सुझाव सङ्कलन गर्दै छलफल तथा अन्तरक्रिया गरेको हो ।
आयोगले अर्थतन्त्रका समग्र पक्षको अध्ययन गरी विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक, दिगो, उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक उत्पादनशील र दिगो अर्थतन्त्रको निर्माण, गरिबी निवारण एवम् समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारको खाका छ महिना भित्र पेस गर्ने गरी कार्यारम्भ गरेको आयोगका अध्यक्ष खनालले बताए ।
अध्यक्ष खनालले नेपालको विगत र वर्तमान अर्थतन्त्रको अवस्था,सूचक लगायतका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
आर्थिक विकासका लागि नीति सुधार, लगानीको वातावरण सुधार, र कर प्रणालीमा आवश्यक सहजताकाको वातावरण सृजना गर्नुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका थिए । कृषि, शिक्षा ,स्वास्थ्य , धार्मिक ,पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानी कम हुँदा सोचे अनुसार प्रगति तथा आर्थिक सुधार हुन नसकेको सहभागीहरूले बताएका थिए ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जिल्लामा उठेका विभिन्न सवालहरूलाई विशेष जोड दिने अर्थ सचिव सुशील नेपालले बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंह , प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुख ,प्रतिनिधि, प्राध्यापक, विषय विज्ञ, नागरिक समाज, पत्रकार, उद्यमी÷व्यवसायी लगायतको सहभागिता रहको थियो ।
उच्च स्तरीय समितिले यस्तै कार्यक्रम छलफल तथा अन्तक्रिर्या कार्यक्रम कैलाली, कंचनपुर ,नेपालगन्ज, सुर्खेत र जुम्ला लगायतका १९ जिल्लामा कार्यक्रम गर्ने आयोजकले जनाएको छ।
अर्थतन्त्र सुधारका लागि सुझाव दिन अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले गत असोजको तेस्रो हप्ता पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो।