जिल्लाको उत्कृष्ट करदाताका रुपमा २५ बर्षिय सुविन साउँद सम्मानित भएका छन् । साउँद दिपायल पिपल्ला बजार स्थित “घटाल बाबा ट्रेडर्स” का संचालक हुन । उनले गत आर्थिक बर्षमा जिल्लामा सबैभन्दा बढी १९ करोडभन्दा बढीको कारोवार गरेर ८ लाख १३ हजार रूपैयाँ कर दाखिला गरेको भन्दै करदाता सेवा कार्यालय डोटीले शुक्रवार सम्मान गरेको हो । कर दिवस एवम कर सप्ताहको समापन कार्यक्रममा साउँदलाई अविर, माला एवम् प्रशंसा पत्र सहित सम्मान गरेको हो ।
सम्मानित भएका युवा व्यवसायी साउँदले कर भनेको पैसा तिर्नु मात्र नभइ नयाँ पुस्ताका लागि प्रणाली पनि भएको बताएका थिए । जनताले तिरेको कर अरू कसैका लागि नभइ जनता र देशकै हितमा खर्च हुने भएकाले कर खुसिसाथ तिर्नुपर्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उत्कृष्ट करदाताहरूलाई माला, अबिर र प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन् ।
समारोहमा उपस्थित उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँद, नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाही, विभिन्न कार्यालयका प्रमुख तथा अन्य अतिथिहरूले करदाताहरूलाई बधाई दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सम्मानित करदाताहरूलाई बधाई दिँदै सबै नागरिकले कानुन अनुसार कर तिर्नुपर्नेसम्बन्धी जागरूकता फैलाउनुपर्ने बताए । उनले कर तिर्ने नागरिक र व्यवसायीहरू नै देशको समृद्धिका आधारस्तम्भ भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले सरकारले असुली गरेको करलाई जनताको हितमा खर्च गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो समय व्यापारमा केही गिरावट आए पनि व्यवसायीहरूलाई करप्रति सकारात्मक बन्न आग्रह गरे ।
त्यस्तै बी ट्रेडर्सका प्रोप्राइटर जंग बहादुर रावल, पि.एस. कन्स्ट्रक्सनका प्रोप्राइटर प्रेम शंकर भट्ट, एस.जि. फयूल सेन्टरका प्रोप्राइटर प्रेम बहादुर भण्डारी र सेती निर्माण सेवाका प्रोप्राइटर घनश्याम दत्त पाठक रहेको करदाता सेवा कार्यालय डोटीकी प्रमुख चादनी थापाले बताइन् ।
करदाता सेवा कार्यालय प्रमुख थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत कार्यालयका कर्मचारी बीर बहादुर ठगुन्नालाई पनि नगद रु पाँच हजार सहित सम्मान गरिएको थियो ।