कार्तिक २६ गते ,डोटी : जनताले गिट्टी कुटेर सहकारीमा जम्मा गरेको पैसा तत्काल फिर्ता गर्नु पर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले बताएका छन् ।
नेपाली काँग्रेसको सय दिने विशेष अभियानमा केन्द्रीय प्रतिनिधिका रूपमा डोटी पुगेका केन्द्रीय सदस्य बरालले नेपाल प्रेस युनियन डोटी शाखाले सोमबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो कुरा बताएका हुन् ।
उनले भने ,‘गिट्टी कुट्ने ,साग बेच्ने र मकै पोल्ने लगायतका निम्न स्तरका जनताको पैसा सहकारीमा अपचलन हुनु दुःखद कुरा हो । निम्न वर्गका मानिसको पसिनाको कमाई माथि रजाइँ गर्ने जो सुकै पनि कानुन भागेर हुनुपर्दछ । ’
७४ लाख सहकारी पीडितको रकम ठगी प्रकरणमा संलग्न जस्तो सुकै ठुलो व्यक्ति भए पनि कानुनी दायरमा ल्याएर पीडितको रकम फिर्ता गर्नु पर्छ भन्नेमा कांगे्रसको अडान रहेको बताए ।
उनले थपे,‘म पोखराको मान्छे हो । सुदर्शन सहकारी पीडित निक्कै पिडामा छन् । उनीहरूको पिडामाथि पिडा थप्ने काम नयाँ भन्नेहरूले गर्नुहुन्न ।’
मुलुकले संयमताको राजनीति खोजेको बताउँदै अनुसन्धान क्रममा जोडिएका व्यक्तिलाई छानबिन गर्न दिनु पर्ने उनले बताए । अनुसन्धानलाई बिथोल्ने तरीकाले तोडफोड तथा शक्ति पर्दशन गर्न खोज्नु गैर जिम्मेवार रहेको बरालले बताए ।
सहकारी रकम अपचलनमा संलग्न व्यक्तिको अनुसन्धान कार्य तदारुकसाथ अगाडी बढेको उनले बताए ।
नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष चक्र कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाली कांगे्रसका नेता तथा जिल्ला स्थित पत्रकारहरूको उपस्थिति रहेको थियो ।