
कार्तिक ६, डोटी:पछिल्लो समयमा निकै चर्चित गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ देउसी भैलो देउडा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा गायक बमकै शब्द तथा लय रहेको छ भने गायक चक्र बमलाई अनिता चलाउने र लाल बहादुर धामी (अछामी बड्डो) ले साथ दिएका छन् ।
हिन्दुहरुको दोश्रो महान चाड तिहारमा खेलिने देउसी भैलोलाई देउडाको सम्मिश्रण गरेर सुदूरपश्चिमेली तथा कर्णाली क्षेत्रलाई उजागर गर्ने गरी कलाकार बमले गीतका शब्द, परिस्कृत भाका र लवज पस्केका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा चक्र बम, श्रीया बडु, लाल बहादुर धामी, अनिता चलाउने तथा साथीहरुको अभिनय रहेको छ ।
केशव बडुले एरेन्ज गरेको गीत प्रिज्म, कुसुम र प्रियसी रेकर्डिङ स्टुडियोमार्फत तयार गरिएको छ भने भिडियोमा विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।गायक चक्र बमको अफिसियल युट्युब च्यानलबाट सोमबार म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
पछिल्लो एक वर्ष सुदूरपश्चिमको भाषा, शैली र लवजमा चाडपर्व, धर्म, संस्कृती, पौराणिक कथामा आधारित ४ वटा गीतहरु पस्किएको र ती गीतहरू व्यवसायिक रूपमा सफल नभए पनि एक खालको परिचय सहित सकारात्मक प्रतिक्रिया पाइएको गीतका सर्जक चक्र बमले बताएका छन् ।