

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ ।
पोखराको सुर्य दर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरी संघ धकेलाधकेलासमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
