हिक्मत शाही
कविताको शीर्षक :हिजोआज दसैं दसैं जस्तो लाग्दैन
चम्पा उस्तै छ
चमेली उस्तै छ
जून उस्तै हुन्छ नवरात्रको
जूनेली उस्तै छ ,
खै कता छुट्यो बालापन ?
रहरहरु खोसेर ,
याद उस्तै छ
सम्झना उस्तै छ !
तर पनि खै किन हो ?
चम्पा चम्पा जस्तो लाग्दैन
चमेली चमेली जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !
आगनभरीको बाबरी फुल्न
उत्साह भित्रको लालुपाते फुल्नुपर्छ ,
करेसाभरीको गोदावरी फुल्न
उमङ्गको गुलाव फुल्नुपर्छ ,
तर
रहरहरु पतझर बनेर झरेपछि
न उत्साह फुल्छ
न उमङ्ग फुल्छ
न मन फुल्छ
न मनोकामना फुल्छ
त्यसैले त
बाबरी बाबरी जस्तो लाग्दैन
गोदाबरी गोदाबरी जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !!
मनको मखमली फुले मात्रै
कौसीको जुही निको लाग्छ
सम्झनाको सयपत्री फुले मात्रै
बार्दलीको जाही निको लाग्छ ,
न रहर आफ्नो छ
न प्रहर आफ्नो छ ,
सबै कुरा उतै छुटे
खोक्रो शरीरमात्र आफ्नो न हो ,
सम्झनाको अबिच्छिन्न् तरेली
अनि
आँसुले भिजेको आँखाको परेली उतै छ !
त्यसैले त
मखमली मखमली जस्तो लाग्दैन
सयपत्री सयपत्री जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !!!
फिका लाग्छन् सबै कुरा
केही अधुरा केही अपुरा
झल्को लाग्छ बालापनको
याद आउँछन् पुराना कुरा :
जमरा राख्ने माटो
चालेको त्यो पल
अँध्यारो कुनामा दियो
बालेको त्यो पल ,
रातभरि रत्यौलीमा
रमेको त्यो पल
देउडा खेल्दै साथीसंग
जमेको त्यो पल ,
अब त फगत सपना मात्र न हो
त्यसैले त
रत्यौली रत्यौली जस्तो लाग्दैन
देउडा देउडा जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !
चकमन्न लाग्छ
जताततै शुन्य लाग्छ ,
सयौंको भिडमा पनि
एकान्त अनि एक्लो लाग्छ ,
हरे !
कहाँ छुट्यो बालापन
कता छुट्यो त्यो समय
कहाँ होलान् साथीसङ्गी
नफर्किने त्यो समय ,
काक्रा चोरीयो कतै
उखुको लाख्रा चोरीयो
मन चोरीयो कतै
गोरेटोमै मन छोडीयो ,
न हाँस्न सकिन्छ खुलेर
न बाँच्न सकिन्छ भुलेर
त्यसैले त
घटस्थापना घटस्थापना जस्तो लाग्दैन
फुलपाती फुलपाती जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !
छर छिमेक उस्तै
घर उस्तै
उदास लाग्छ जताततै
मामा घर उस्तै ,
न कमेरो देख्छु
न छ्यापेको घर देख्छु ,
न रातोमाटो देख्छु
न पोतेको आगन देख्छु !
मालश्री उस्तै
मालश्रीको धुन उस्तै
नवरात्री उस्तै
नवरात्रीको जून उस्तै ,
उझाड लाग्छ जताततै
सबै छुटे उतै कतै ??
र त
न आमाले सेल पोलेको देख्छु
न बाबाले सन्दुक खोलेको देख्छु ,
त्यसैले त ,
जमरा जमरा जस्तो लाग्दैन
टीका टीका जस्तो लाग्दैन
हिजोआज दशैं दशैं जस्तो लाग्दैन !