Sujang

डोटीका ग्रामीण सडक अवरुद्ध : स्ट्रेचरमा बोकेर बिरामी अस्पताल पुर्‍याउनु पर्ने बाध्यता 

एकेन्द्र चन्द,असोज ३, डोटी: लगातारको वर्षातले  अवरुद्ध बनेका डोटीका ग्रामीण सडक मर्मत सम्भार नहुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ । नेपालीहरूको ठुलो चाड बडादसैँ  आउँदै गर्दा  सडक मर्मत नहुँदा बढी मात्रामा बिरामी, महिला तथा वृद्ध वृद्धा मारमा परेका छन्।
सहजपुर बोगटान सडक अन्तर्गत सहजपुर बाट अतरकाडा सम्म सडक खुले पनि सडक खण्डको अतरकाडा देखि बोगटान फुड्सिल गाउँपालिका सम्म अझै सडक खुल्न सकेको छैन सडक अवरुद्ध भए पछि बडिकेदार गाउँपालिकाका स्थानीय  गर्भवती र बिरामी अस्पताल लैजान झनै समस्या भएको र गाडी  नचल्दा गाउँका छिमेकी बिरामी हुँदा  स्ट्रेचरमा बोकेर अस्पताल लग्नु परेको  बडिकेदार गाउँपालिका ५ धारीका  स्थानीय भरत बोहराले बताउनु भयो ।
लगातार परेको वर्षाले गाउँपालिकाका  घाङगल मुलेचौर,ओखलढुङ्गा  सडक, घाङ्गल बिठारा सडक, देवली, रिसडी, मान्नाकापडी सडेखान,  लगायतका  ग्रामीण ठाउँका सडक अवरुद्ध हुँदा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन नचल्दा व्यापारीलाई दसैँ नजिक आउँदा सामान ढुवानी गर्न समेत समस्या भएको छ भने औषधि उपचारमा समेत असहजता हुँदै आएको  स्थानीय व्यापारीले बताएका छन् ।
पटक पटक सडक मर्मत गरे पनि वर्षाको पानीले सबै बगाएर लैजाने भएकाले समस्या भइरहेको बताउँदै पाँच वटै वडामा बाटो खोल्नु पर्ने अवस्था भएकाले अब एक दुई दिनमै  बाटो खोल्ने काम सुरु हुने बडिकेदार गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष तथा बडिकेदार गाउँपालिकाका प्रवक्ता पदम सिंह बोहराले बताउनु भयो ।
लगातारको वर्षाले पालिकाका दर्जनौँ घर भत्किएका छन् भने धेरै जस्तो बस्तीहरू पहिरोको जोखिममा रहेका छन् भने पालिकाको वडा नम्बर ४ मा रहेको एउटा ट्रसपुल समेत बगाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.