Sujang

लैङ्गिक हिंसा विरुद्ध काम गर्ने कर्मचारीका लागि लैङ्गिक रूपान्तरण पद्धति सम्बन्धी तालिम सम्पन्न

सरिता कठायत,भदौ ३१ गते, कैलाली : लैङ्गिक हिंसा विरुद्ध प्रतिकार्यको अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीहरूका लागि पाँच दिने लैङ्गिक रूपान्तरण पद्धति सम्बन्धी तालिम धनगढीमा सम्पन्न भएको छ ।

युरोपेली संघको आर्थिक सहयोगमा नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घीय निकायहरू यूएनएफपिए, युनिसेफ, आइएलो र युएनओमेनको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रमले  सशक्त महिला समृद्ध  नेपाल परियोजना अन्तर्गत लैङ्गिक  रूपान्तरणीय तालिम  धनगढीको जियान होटेलमा सोमबार सम्पन्न भएको हो  ।

लैङ्गिक हिंसाका प्रभावित तथा हिंसाको जोखिममा रहेका महिला तथा किशोरीहरूलाई प्रभावित केन्द्रित सेवाको पहुँच विस्तार गर्दै सो सेवाको सुदृढीकरण  गर्न सो तालिमको आयोजना गरिएको हो ।  सुदूरपश्चिम प्रदेशका ७ जिल्ला कैलाली,कञ्चनपुर,डोटी ,अछाम, बाजुरा,बैतडी र बझाङ गरेर २९ जना सहभागीहरू तालिममा उपस्थित रहेका थिए ।

समाजमा हुने  लैङ्गिक हिंसालाई न्यूनीकरण गर्नका लागि एक जनाले मात्रै सम्भव हुँदैनन् लैङ्गिकतामा आधारित हिंसा प्रतिकार्य परियोजना २ का  मनोसामाजिक सुपरिवेक्षण एभोन श्रेष्ठले बताए ।  लैङ्गिक हिंसा प्रतिकार्यका लागि अग्रपङ्क्तिमा रहेका सबै सरोकारवालासँग गरिएको तालिमले समुदायमा सहकार्य गरेर काम गर्न सहज हुने भएकाले कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

पाँच दिनको तालिममा प्रशिक्षकको रूपमा डा‍. पुनम रिजाल र डा. शिखा बस्नेत रहनु भएको थियो  । तालिममा  पितृसत्तात्मक सोचले गर्दा समाजमा हुने सबै प्रकारका हिंसा लाई न्यूनीकरण गर्ने विषय र लैङ्गिक रूपान्तरण आफूबाट पहिला परिवर्तन हुनुपर्ने विषयमा गहन छलफल भएको थियो ।

 

त्यसै गरी बालविवाहको बारेमा  धनगढी उपमहानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका  अधिकृत पंकजा जोशीले जानकारी गराइन् । तालिममा  सहभागी सिएमसि नेपालका सुदूरपश्चिम स्वास्थ्य सुपरिवेक्षक डाक्टर कृष्ण शर्मा साथै लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका क्षेत्रमा कार्यरत प्रहरी, अदालतका कर्मचारी, अस्पतालका स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता र समुदायमा आधारित मनोसामाजिक कार्यकर्ता तथा मामिला व्यवस्थापकहरूको तालिममा सहभागिता रहेको थियो  ।

Salmuni
Leave A Reply

Your email address will not be published.