Sujang

दिपायल सिलगढी नगरपालिकाद्वारा सुरक्षित महिला आवास गृह संचालन

खगेन्द्र सिंह,भदौ- ३१: डोटीको दिपायल सिलगढी नगरपालिकाले सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र (सुरक्षित महिला आवास गृह) संचालनमा ल्याएको छ ।

युरोपियन युनियन (ईयु) को आर्थिक सहयोगमा संचालित सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत युएनएफपिए एवं साथी संस्थाको समन्वय तथा प्राबिधिक सहयोगमा उक्त सेवा केन्द्र दिपायल सिलगढी नगरपालिकाद्वारा संचालनमा आएको हो ।

विशेष गरी हिंसा प्रभावित, प्रभावित महिलाहरु, घरेलु हिंसा वा अन्य कुनै पनि प्रकारका यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसामा परेका महिलाहरुलाई सुरक्षित हुने हेतुले स्थापना भएको आवास गृहले अस्थायी संरक्षण र विभिन्न किसिमका सहयोग गर्ने गरेको आवास गृहका मनोबिमर्शकर्ता बन्दना बमले बताइन ।

‘सबै प्रकारको हिंसा प्रभावित महिला, बालिका तथा किशोरीहरुको लागि पर्याप्त, सुरक्षित र संरक्षित वातावरणमा आवासीय हेरचाह सुविधा प्रदान गर्ने आवास गृहको उद्देश्य रहेको रहेको छ’ मनोपरामर्शकर्ता बमले भनिन्, ‘लैंगिक हिंसाबाट प्रभावितहरुलाई शारीरिक तथा मानसिक उपचार, कानूनी सहायता, मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छौं ।’

प्रभावितलाई कानुन अनुसार सजाय दिलाउन प्रभावितहरुलाई सहयोग गर्ने र उनीहरुको न्यायमा पँहुच सुनिश्चित हुने वातावरण तयार गर्ने गरेका र त्यस्ता किसिमका प्रभावित व्यक्तिहरुलाई आवश्यकता अनुसार शिक्षा, सीप विकास, व्यवसायिक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम प्रदान गरी परिवार तथा समाजमा पुनस्र्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउने हाम्रो उद्देश्य रहेको उनले बताइन ।

प्रभावितहरुका लागि सेवा केन्द्रमा आवास तथा भोजनको व्यवस्था हुने गरेको र उनीहरुलाई कुनै किसिमको विरामी भए वा अन्य शारिरीक समस्या आए औषधी उपचारको समेत व्यवस्था रहेको मनोपरामर्शकर्ता बमले जानकारी दिइन् । प्रभावितहरुको लागि लत्ताकपडाको समेत व्यवस्था हुने गरेको उनले बताइन् ।

नवलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्था लिमिटेडद्वारा २०६६ सालदेखि जिल्ला सदरमुकाम सिलगढीमा संचालनमा रहेको सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई गत असार १७ गतेदेखि नयाँ व्यवस्थापनका साथ दिपायल सिलगढी नगरपालिकाले संचालन गरिरहेको छ ।

नयाँ व्यवस्थापनका साथ संचालनमा आएदेखि सेवाग्राहीहरु बृद्धि भइरहेका र अहिले दैनिक ५/६ जनाले सेवा लिइरहका सेवा केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले संचालन गरेको भएपनि जिल्लाभरीका प्रभावित व्यक्तिहरुले सेवा लिने गरेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेको सेवा केन्द्रको आवास गृह मर्मतका लागि नगरपालिकाले एक लाख रकम उपलब्ध समेत गराएको नगर प्रमुख बाजी सिंह खड्काले बताए । घरेलु हिंसा लगायतका अन्य हिंसाबाट प्रभावित महिला तथा बालिकाहरुले आफ्नो न्याय तथा सहयोगको लागि सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्रलाई सम्झिनु पर्ने र हामीले संचालन गरेपनि जिल्लाभरीकै प्रभावित व्यक्तिहरुले सेवा पाउने नगर प्रमुख खड्काले जानकारी दिए । उनले सेवा केन्द्र व्यवस्थापनका लागि सबै पालिकाको सहयोग हुनुपर्ने समेत बताए ।

सेवा केन्द्रमा प्रभावित व्यक्तिहरुको लागि सुरक्षित र प्रभावितमैत्री वातावरणमा सेवा उपलब्ध गराउने कुरा युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत भरत गोतामेले जानकारी दिए ।

जिल्लामा हुने विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमका कारण लुकेर र सहेर बसेका हिंसाका घटनाहरु सेवा केन्द्रसम्म आइपुग्ने गरेका नगरपालिका महिला शाखा प्रमुख सानुमाया लिम्बुले बताइन ।

हाल सेवा केन्द्रमा मनोबिमर्शकर्ता एक जना, वार्डेन एक जना, सुरक्षा गार्ड एक जना र कार्यालय सहयोगी एक जना गरी जम्मा चार जनाको संख्यामा जनशक्ति रहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.