![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
दिपेन्द्र खड्का ,भदौ २४ गते ,डोटी : बिपी जयन्तीका अवसरमा नेपाली काँग्रेस डोटीले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्म जयन्तीका अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीलाई सोमबार फलफूल वितरण गरेको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई बिपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका बिपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ-मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
एनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।
बिपी कोइरालाको तस्बिर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।
फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता , भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।