प्रकाश बम,असोज,१४ गते –इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय डोटीले निर्देशन दिएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।
प्रशासनले एक सूचना जारी गर्दै कार्तिक ५ गते भित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।
उनका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई एक हप्ता भित्र फिर्ता गरिने प्रसाशनले जनाएको छ।
कोही–कसैले बिनाइजाजतका भरूवा तथा एअर गन राखेको भए पनि स्वत:स्फूर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ।
निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।