दिपेन्द्र खड्का,भदौ १७ गते, डोटी :डोटीको पूर्बिचौकी गाउँपालिका मातहतका कर्मचारीले बिदामा बस्दा पालिकामा जानकारी नदिए कानुन अनुसारको कारबाही हुने बताएको छ ।
आइतबार एक सूचना जारी गर्दै पालिका अन्तरगतका सबै सामुदायिक विद्यालय ,वडा कार्यालय,स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई,लगायतका कार्यालयलाई सूचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा पालिकाका अन्तरगत रहेका केही सामुदायिक विद्यालयहरूका केही शिक्षकहरूले विद्यालयलाई जानकारी नै नदिई अनुपस्थित हुने, प्रधानाध्यापकको स्वीकृत विना नै बिदामा बस्ने प्रवृत्ति रहेको अभिभावक तथा जनस्तरबाट गाउँपालिकामा गुनासो आएका कारण अव उप्रान्त अनिवार्य रूपमा शिक्षक तथा कर्मचारीले प्रधानाध्यापकबाट बिदा स्वीकृत गराइ बिदा बस्नुपर्ने उल्लेख गरिएको छ ।
साथै तिन दिन भन्दा बढी बिदा बसेमा अनिवार्य रूपमा युवा शिक्षा तथा खेलकुद शाखालाई बोधार्थ गरी भौतिक माध्यम वा आधिकारिक रूपमा सूचना आदान प्रदान गर्न प्रयोग गरिएको विद्युतीय माध्यम (मेसेन्जर समूह) मार्फत जानकारी गराउनुका साथै निर्देशन समेत गरिएको प्रशासकीय अधिकृतद्वारा हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै अन्य कार्यालयका कर्मचारीले समेत सम्बन्धित शाखाबाट बिदा स्वीकृत गराउनु पर्ने र ३ दिन भन्दा बढी बिदा लिनु परेमा अनिवार्य रूपमा पालिकाबाट बिदा स्वीकृत नगराए कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।