गणेश मौनी ,साउन १९ गते :डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रवार एक जनाको ज्यान गएको घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर शुक्रवार ज्यान गएको थियो ।
उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुक सहित गए राती प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरी कोइरालाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धानको खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ डाडाँगाउँ बस्ने वर्ष ३३ को राम बहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ को दिल्ली साउद रहेका छन् ।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार राम बहादुर साउँदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको बाकी विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको समेत प्रहरीले जनाएको छ ।