श्रावण १७,धनगढी :सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् । वैशाख ६ गते मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफूले शपथ लिएकै दिन नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूहका) चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका सात सांसदमध्ये कैलाश चौधरी र टीका थापाले पार्टीमा विद्रोह गर्दै सोडारीको मुख्यमन्त्री दाबीलाई समर्थन गरेकाले सोडारी मुख्यमन्त्री नियुक्ति सम्भव भएको थियो ।
मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री सोडारीकै पत्रअनुसार प्रदेशसभा सचिवालयले शुक्रबारका लागि विश्वासको लिने प्रयोजनको कार्यसूची निर्धारण गरिसकेको छ । तर उनले विश्वासको मत परीक्षण गर्छन् या राजीनामा दिन्छन् भन्ने यकिन भइसकेको छैन । सत्ता साझेदार दल एमालेले असार २० गते मुख्यमन्त्री सोडारीमाथिको समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची राखिएको अघिल्लो दिन भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले राजीनामा दिएका हुन् । आफ्नो राजीनामाको अर्थ नितान्तर राजनीतिक निर्णय भएको चौधरीले बताए । ‘यस बीचमा बिग्रेको परिस्थिति सुधार होला कि भन्ने अपेक्षा थियो, तर कुनै पनि दल जिम्मेवार नभएका र सुधारको लक्षण नदेखिएकाले राजीनामा दिएको हुँ,’ चौधरीले भने ।