Sujang

‘डोटेली लोक साहित्य पुरस्कार २०८०’ जोशीले र ‘काव्य पुरस्कार २०८०’ भण्डारीले पाउने

असार १५, डोटी :नेपाली लेखक सङ्घ डोटीले प्रदान गर्दै आएको डोटेली लोक साहित्य पुरस्कार २०८० साहित्यकार पदमराज जोशी ‘प्रभात’ ले र काव्य पुरस्कार २०८० कवि निर्मल कुमार भण्डारीले पाउने भएका छन् । नेपाली लेखक सङ्घ डोटीले प्रा.डा.जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार जोशीलाई र पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार भण्डारीलाई दिने निर्णय गरेको हो ।  जोशी र भण्डारीलाई एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिने नेपाल लेखक सङ्घ डोटीले जनाएको छ ।

प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार डोटेली लोक संस्कृति, डोटेली लोक साहित्यमा अध्ययन अनुसन्धान र संरक्षणमा विशेष योगदान पुर्‍याउने एक जना स्रष्टालाई प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने गरिएको छ भने पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार सुदूरपश्चिम प्रदेशका काव्य जगत्मा विशेष योगदान पुर्‍याउने एक जना स्रष्टालाई प्रत्येक दुई दुई वर्षमा प्रदान गरिँदै आएको छ । दुवै पुरस्कारको राशि ११ हजार एक सय एघार रुपैयाँ रहेको छ ।

 पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार विजेता जोशी वि.स.२०१६ सालमा पूर्वीचौकी गाउँपालिका–७ पोखरी देउरामहल डोटीमा जन्मिएका हुन् । हाल उनी धनगढी कैलालीमा बस्दै आएका छन् । सुदूर पश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध भई सक्रिय रहेका छन् । नामसारी कथा सङ्ग्रह २०५७, गौरा पर्व एक परिचय २०५९, पहाडकी सौँराइ २०६४, सुदूर पश्चिमाञ्चलको समाज र लोक संस्कृति २०६४ जोशीका कृति हुन् । जोशी साझा लोक साहित्य पुरस्कारबाट समेत  सम्मानित भइसकेका छन् ।

पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार पाउने भण्डारी जोरायल गाउँपालिका सरस्वतीनगर ३ बेल्टुक्रा डोटीमा २०१३ सालमा जन्मिएका हुन् । साहित्यलाई समाजको दर्पण र हृदयको भावुक भाषा ठान्ने स्रष्टा भण्डारी पद्य कविता सृजना गरी साहित्यमा प्रसिद्धि छन् । हाल अत्तरिया कैलालीमा बस्दै आएका भण्डारी कर्तव्य बोध सन्देश २०५२ कविता सङ्ग्रह, सावधान नयाँ युग आउँदै छ खण्डकाव्य २०५६, निर्मल माणि २०७०, माया दुरिदैन २०७६ जस्ता कृतिका लेखक हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.