जेठ ३०, गते डोटी : डडेल्धुरा अस्पताल डडेल्धुरामा पाठेघर खसेका १० जना महिलाको निःशुल्कशल्य क्रिया गरिएको छ।
तीन दिने शिविरमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाका १० जना महिलाको पाठेघरको निःशुल्क शल्याक्रिया गरिएको हो ।
पाठेघर खसेका महिलाको उपचारका लागि बोगटान फुड्सिल गाउँपालिकाले डडेल्धुरा अस्पताल डडेल्धुरा सँग समन्वय गरी ३ दिनको शिविर सञ्चालन गरेको बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।
पहिलो दिनमा चार, दोस्रो दिनचार र तेस्रो दिनमा गरी १० जनाको शल्यक्रिया र ३ जनाको महिलाको उपचार गरिएको अस्पतालमा कार्यरत महिला रोग विशेषज्ञ डा. स्मृति शाहीले जानकारी दिइन् ।
उनले भनिन् ,‘कसैको पाठेघर खसेको पाइएको थियो। कसैको पाठेघर राम्रोसँग नखसेको अगाडि पिसाब थैली र पछाडि मलद्वार खसेको थियो। त्यसलाई सिलाएर माथि सारेर राखेका छौँ । ‘
धेरै बच्चा पाएका महिलाको पाठेघर खस्ने समस्या धेरै भएको बताउँदै सुत्केरी भएका ग्रामीण भेगका महिलाले आराम नगरेर भारी समान बोक्दा पाठेघर खस्ने गरेको डा. शाहीले बताइन् ।
पालिकाले सबै वडामा घुम्ती शिविर गरेर पाठेघरमा स्वास्थ्य समस्या भएका महिलाको पहिचान गरी पीडित महिलाको निःशुल्क शल्यक्रिया तथा उपचार गर्ने गरेको उपाध्यक्ष बमले बताइन् ।
उनले भनिन्, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोक लाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ।’ आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन्।
महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गत वर्ष ८ जना महिलाको निःशुल्क शल्यक्रिया गरिए उनले बताइन् ।
पीडित पाठेघर खसेका महिलाहरूले उपचार पाएर आफूहरूले नयाँ जीवन पाएका बताएका छन् ।
सिड्स नामक गैरसरकारी संस्थाले समेत पालिकालाई सहयोग गरेको र पालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरूलाई यातायात र खाने बस्ने व्यवस्था समेत मिलाएको पालिका स्वास्थ्य शाखामा कार्यरत घनश्याम कठायतले बताए ।