Sujang

आर्थिक अभावले कसैको ज्यान जोखिममा भए नि:शुल्क स्वास्थ्य उपचार गर्छु : डा. शर्मा

बैशाख १३ गते, डोटी : नेपाली काङ्ग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने बताए । बिहिबार दिपायलमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले काठमाडौं मेडिकल कलेजमा उपचारका लागि आउने सुदूर र कर्णालीका बिरामीहरुको निःशुल्क उपचार गर्ने बताएका हुन् ।

काठमाडौं मेडिकल कलेजको सहयोग तथा दिपायल सिलगढी नगरपालिकाको आयोजनामा दिपायलमा विशेषज्ञ डाक्टरसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्माले काठमाडौं मेडिकल कलेजले देशकै सर्वोउत्कृष्ठ स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउँदै सुदूर र कर्णालीका सबै खाले बिरामीहरुको उपचार निःशुल्क गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने ,’ आर्थिक अभावका कारण कुनै पनि जनताले अकालमा ज्यान गुमाउनु नपरोस् । बिगत देखि आफुले यस्ता सहयोग गर्दै आएको हुँ । आगामी दिनमा पनि गरिव असाहय र आर्थिक अभावमा ज्यान जोखिममा भए निशुल्क स्वास्थ उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

नगर प्रमुख बाजि सिंह खड्काले गरिव असाहय जनताको सेवा नै आफ्नो धर्म र कर्म भएको बताए । उनले सहज स्वास्थ्य सेवा प्रवाह गर्नु र जनतालाई आयस्रोतसँग जोड्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

नगरपालिकाले नगरको भौगोेलीक अवस्थालाई हेरेर नगर अस्पतालको निर्माण गरि सहज र निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने तयारीमा रहेको नगर प्रमुख खड्काले बताए । उनले शिविर सञ्चालनमा सहयोग गर्नु भएकोमा सासंसद शर्मा, चिकित्सकको टिम र काठमाडौं मेडिकल कलेजको टिमलाई धन्यवाद ज्ञापन गरे ।

शिविरमा दिपायल सिलगढी नगरपालिका र छिमेकी पालिकाका एक हजार ३ सय ५० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका थिए । थप उपचार र शल्यक्रिया गर्नु पर्ने बिरामीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने छ ।

शिविरमा जनरल मेडिसियन, स्त्री रोग, बाल रोग, मनोरोज, हाड जोर्नी तथा नसा सम्बन्धी उपचार, छाला तथा यौन रोग, नाक, कान घाटी, आँखा, दन्त रोग, मुटु रोग र भिडियो एक्सरे, ल्याब टेष्ट, इसिजि लगायतका सेवा दिइएको थियो । जटिल समस्याको उपचार तथा शल्यक्रिया देखिएकाको विरामीको मेडिकल कलेजमा निःशुल्क उपचार गरिने सांसद शर्माले बताए ।

सांसद शर्मा सुदूरपश्चिमका डोटी, बाजुरा र कर्णालीका हुम्ला, मुगु र कालिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरि काठमाडौं मेडिकल कलेजको विशेषज्ञ टिमसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमणमा छन् ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.