Sujang

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण

अविनाश चौधरी ,धनगढी, चैत १५ गते। सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालय र खुशीराम डङ्गौरा थारुले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो। दुवै जनाले बिहीबार पदभार ग्रहण गर्नुभएको छ। केही दिन अगाडि मुख्यमन्त्री कमलबहादुर शाहले उहाँहरुलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो।

नागरिक उन्मुक्ति पार्टीको हिजो टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्टै मुख्यमन्त्री शाहले सो पार्टीबाट बिना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।

नागरिक उन्मुक्ति पार्टीले यसअघि आर्थिक मामिला मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेको छ। प्रदेश सभामा चौथो ठुलो दल रहेको यो पार्टीबाट पाँच जना मन्त्री हुनुभएको छ।

पदभार ग्रहण गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले पार्टी चलाउने प्रक्रियामा तलमाथिका कारण अहिले केही तरंगित अवस्था रहे पनि जनजीविका र जनताको समस्यासँग जोडिएका विषयसंग सबै गम्भीर बन्नुपर्ने बताउनुभयो। मन्त्रालयहरु लामो समयसम्म नेतृत्वविहीन हुन नहुने भन्दै उहाँले अगाडि थप्नुभयो,“ यस्तो अवस्था बन्छ भने त्यसको जवाफदेही हामी जनप्रतिनिधि हुनुपर्दछ।”

आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एक वर्षदेखि रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो,“पार्टीले सल्लाह, सुझाव दिन सक्छ। तर सरकार चलाउने होइन। सरकार चलाउने म्यान्डेट जनताले हामी जनप्रतिनिधिलाई दिएका छन्। पार्टीले नै सरकार चलाउने हो भने हाम्रो औचित्य के रु”

मन्त्रालयको नेतृत्व गर्ने क्रममा उहाँले आफूले जनताको आशा, भरोसा नतोड्ने र पार्टीले जनताको पक्षमा लिएको एजेण्डा अनुसारको काम गर्ने उल्लेख गर्नुभयो। यसैगरी, अर्का मन्त्री खुशीराम डङ्गौरा थारुले आफूले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि प्रलोभनमा नपरी सोही अनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

Salmuni
Leave A Reply

Your email address will not be published.