Sujang

भारतीय राजदूतावासका द्वितीय सचिव सोनाद्वारा क्याम्पस भवनको शिलान्यास

गणेश मौनी ,फागुन २८ डोटी :भारतीय राजदूतावासका द्वितीय सचिव प्रशांत कुमार सोनाले डोटीमा एक क्याम्पस भवनको सोमबार शिलान्यास गरेका छन् ।

बडीकेदार गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा द्वितीय सचिव सोनाले नेपाल भारतको सहयोगमा वडा नम्बर १ बिपी नगरमा निमार्ण गर्न लागिएको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसको भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका द्वितीय सचिव सोनाले निमार्णाधिन भवन समय सीमा भित्र सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । नेपाल भारतको सम्बन्ध सदैव प्रगाढ रहेको बताउँदै सचिव सोनाले भारतले नेपाललाई विभिन्न क्षेत्रमा आवश्यकता अनुसार सहयोग गर्दै आइरहेकोले आगामी दिनमा पनि सहयोग रहने समेत बताएका थिए ।

डोटी कैलालीको बिच क्षेत्रमा अवस्थित क्याम्पसलाई सबैको साझा क्याम्पसको रूपमा विकास गर्न आवश्यक रहेको डोटी क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेश सभा सदस्य शिव सिंह ओलीले बताए । क्याम्पसको सर्वपक्षीय विकासका लागि प्रदेशबाट पहल गर्ने समेत प्रदेश सभा सदस्य ओलीले बताए ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेको बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको रूपमा विकास गर्नुका साथै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सबैले ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए ।

डोटीको ग्रामीण क्षेत्रमा रहेको क्याम्पसलाई थप व्यवस्थित गरी छिमेकी सबै पालिकाको साझा क्याम्पसको रूपमा अगाडी बढाउने बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । क्याम्पसको विकासको लागि लागि अन्य छिमेकी पालिका र सरोकारवाला निकायहरू सँग समन्वय गर्ने समेत बताए ।

कार्यक्रममा डोटीको बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । क्याम्पसमा हाल डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका बाट बिद्यार्थिहरु अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

दुई तले १७ कोठे भवन निमार्णको लागि भारतीय राजदूतावासको रु २ करोड, ३३ लाख ६५ हजार ७ सय ९४ र बडीकेदार गाउँपालिकाको रु ९५ लाख ९८ हजार ९० गरी रु ३ करोड २९ लाख ६३ हजार ८ सय ८४ लागत रहेको पालिकाले जनाएको छ ।

 

 

Salmuni
Leave A Reply

Your email address will not be published.