गणेश मौनी,असोज ८ डोटी –डोटी कारागार रहेका कैदीबन्दी र बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मासिक रुपमा स्वास्थ्य परिक्षण गरिने भएको छ ।
कैदीबन्दी र बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक महिनाको दोस्रो शनिबार मासिक रुपमा स्वास्थ्य परिक्षण गरिने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । जिल्ला अस्पताल डोटीको समन्वयमा स्वास्थ्य परिक्षण कार्यक्रम शनिबार देखी सुरुवात गरिएको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
शनिबार गरिएको निशुल्क स्वास्थ्य परिक्षण कार्यमा कारागार भित्र रहेका कैदीबन्दी र बालसुधार गृह भित्र रहेका बालबालिकाहरुको सामान्य तया सबै कुराहरुको चेकजाँच गरिएको जिल्ला अस्पताल डोटीका एमडीजिपी डाक्टर निराजन श्रेष्ठले बताए । स्वास्थ्य परिक्षण कार्यक्रमा आखा, दात, छाला, ब्लड प्रेसर, ब्लड गृप लगाएको सम्पूर्ण चेकजाँच गरिएको डा.श्रेष्ठले बताए ।
दुबै ठाउँमा रहेका ब्यक्तिहरुकोे स्वास्थ्य परिक्षण गर्दा केही ब्यक्तिहरुमा सामान्य प्रकृतीका रोगहरु देखिए पनि जटील रोगका बिरामीहरु कोही नरहेको समेत डा.श्रेष्ठले बताए ।
स्वास्थ्य परिक्षण पश्चात आवश्यकता अनुसार निशुल्क रुपमा औषधी समेत उपलब्ध गराएको थियो ।
कैदीबन्दी र बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखा नपरोस भन्ने हेतुले निशुल्क स्वास्थ्य परिक्षण कार्यको आयोजना गरिएको कारागार कार्यालय डोटीका प्रमुख जेलर लाल बहादुर बोगटीले बताए । कार्यालय प्रमुख बोगटीका अनुसार शनिबार सुरु भएको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा कारागार भित्र रहेका ६५ जना कैदीबन्दी र बालसुधार गृह भित्र रहेका ४२ जना बालबालिकाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
कागारभित्र रहेका दश जना कैदीबन्दीहरुले जिल्ला अस्पताल डोटीमा रहेको ब्लड बैंकको लागि आवश्यक ब्लड डोनेसन गरेको समेत जेलर बोगटीले बताए ।