गणेश मौनी ,फागुन १५,डोटी:सुदूरपश्चिमका महिला पत्रकारहरको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम मङ्गलवार एक कार्यक्रमका बिच दिपायलमा उद्घाटन गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरेको हो ।
महिला पत्रकारहरूको नेतृत्व क्षमता वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेस रावलले बताए । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा महिला पत्रकारहरू दिनानुदिन दिन वृद्धि भइरहेकोले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सभाका पूर्व सांसद लक्ष्मी चौधरीले पत्रकारिता र राजनीति उस्तै उस्तै रहेको बताउँदै पत्रकारिता पेसामा इमानदारी महत्त्वपूर्ण पक्ष रहेको बताइन् । पत्रकारहरूले आम नागरिकका जनजीविका सँग जोडिएका सवालहरूको बारेमा उठान गर्न आवश्यक रहेको समेत बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभाका पूर्व उप सभामुख निर्मला बडालले प्रेस स्वतन्त्रता आवश्यक रहेको बताइन् । उनले भनिन् समाजमा रहेका हरेक सवालहरूलाई पत्रकारहरूले ऐनाको जस्तै पारदर्शी रूपमा देखाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का विजयले लोकतन्त्रलाई संस्थागत गरी सङ्घीयतालाई दिगो पार्न पत्रकारहरूको अहम् भूमिका रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिखर नगरपालिकाकी उप प्रमुख सुनिता रावलले समाजमा सत्य तथ्य सूचना प्रवाह गर्न पत्रकारिताको धेरै ठुलो महत्त्व रहेको बताइन् । उनले भनिन् पत्रकारिता पेसामा चुनौती थपिए भन्दैमा पन्छिने होइन त्यसको सामना गर्न आवश्यक रहेको बताइन्
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पत्रकारिता पेसामा अवसर र चुनौती समान रूपमा रहेको बताइन् । उनले भनिन् पत्रकारिता पेसामा चुनौती मात्र छैनन्, असर नै अवसर पनि छैनन् जुन व्यक्तिले पेसामा आई पर्ने चुनौतीको सामना गर्न सक्न उसको लागि अवसरहरू पनि उत्तिकै रहेको बताइन् ।
तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मीन बम,नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका सदस्य वन्दना बम नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले पनि शुभकामना दिएका थिए ।
तालिममा प्यानल छलफलमा पूर्व सङ्घीय सांसद लक्ष्मी चौधरी, सुदूरपश्चिम प्रदेश सभाकी पूर्व उप सभामुख निर्मला बडाल, शिखर नगरपालिकाकी उप प्रमुख सुनिता रावल जोरा, आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकाया र दिपायल सिलगढी नगरपालिकाकी पूर्व नगर प्रमुख मञ्जु मलासी रहनुका साथै तालिमको सहजिकरण नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका महासचिव राम सिंह ठगुन्ना, सचिव हरि जोशी, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका पूर्व उपाध्यक्ष चाँदनी आर्चाय रहेको आयोजकले जनाएको छ ।
आज र भोली सञ्चालन हुने तालिममा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाबाट ५० भन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।