Sujang

सीमान्तकृत परियोजनालाई निरन्तरता दिन सहभागिको जोड

असोज, ८ गते, डोटी-डोटीमा लागु भएको सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका दिपायल सिलगढी नगरपालिकाका र पुर्विचौकि गाउँपालिकामा तीन वर्षसम्म सञ्चालित उक्त परियोजनाको शनिवार समीक्षा गर्दै सम्पन्न भएको हो ।
मानव अधिकारको लागि महिला,एकल महिला समूह (डब्ल्यु एचआर)द्धारा आयोजित उक्त समीक्षा तथा समापन कार्यक्रममा परियोजनाले तीन वर्षको अवधिमा गरिएका कार्यक्रमबारे डब्ल्यु एचआरका कार्यक्रम संयोजक लक्ष्मी देउवा बमले जानकारी गराइन् ।
कार्य क्षेत्रका स्थानीय तहमा निर्वाचित महिलाहरू,सीमान्तकृत महिलाहरू(एकल,अपाङ्ग,दलित,द्धन्द्ध पीडित,जनजाति तथा विपन्न महिलाहरू) लक्षित परियोजना केन्द्रित रहेको कार्यक्रम संयोजक बमले बताइन् ।
महिलाहरूको नेतृत्व तथा क्षमता विकास गर्ने,महिला अधिकार प्रवर्द्धन,लैगिंक समानता र निर्णय प्रक्रियामा महिलाको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन सीमान्तकृत महिलालाई सशक्त बनाउने एवं आयमूलक कार्यक्रमका लागि सीमान्तकृत महिलाको सिप विकासका साथै उद्यमशीलता विकास गर्ने लगायत परियोजनाको उद्देश्य बारेमा बमले प्रकाश पारेकी थिइन् ।
निर्वाचित महिलाहरूको नेतृत्व क्षमता विकास गर्ने,निर्वाचित महिलालाई उद्यम व्यवसाय गर्नका लागि बिउ पुँजी प्रदान गर्ने लगायत परियोजनाका क्रियाकलापबारे जानकारी गराउँदै कार्यक्रम संयोजक बमले परियोजनाको लक्ष्य,परियोजना संरचना र लक्षित समुदायको दिगोपनाका लागि गरिएका कार्यहरूका बारेमा समेत जानकारी गराइन् ।
परियोजनाका क्रियाकलापहरू कार्यान्वयन गर्दा आई परेका चुनौती,परियोजना कार्यान्वयन गर्दा भएका सिकाई तथा निर्वाचित महिलाका लागि गरिएका क्रियाकलापहरूले भएका उपलब्धिहरू बारे उनले बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सीमान्तकृत महिलाहरूको समस्यामा साथ सहयोग रहने बताए । तिन वर्षको अवधिमा सिकेका कुरालाई व्यवहारमा उर्तान समेत उनले सुझाव दिए ।
जिल्ला समन्वय समितिका उप संयोजक स्मृति चुनाराले यो परियोजनालाई निरन्तरता दिनु पर्नेमा जोड दिइन् । परियोजनाले आफूलाई पनि राजनीतिमा ल्याउन मदत गरेको समेत बताइन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्काले तीन वर्षसम्मको सिकाइले महिलाहरूको क्षमता विकास भएको बताउँदै अब उनीहरूलाई आत्मनिर्भर बनाउनतर्फ पनि परियोजना लागु हुनुपर्ने जोड दिए । नगरपालिकाले गरिब,दलित,एकल महिला,विपन्न महिला,पिछडिएका महिलाहरूका लागि आवश्यक सहयोग गर्ने उनले बताए । नगरले सहारा विहीनका लागि नगर सरकारको अनुभूति दिने खालको कार्यविधि बनाएर तत्काल कार्यक्रम ल्याई रहेको बताए ।
यस्तै दिपायल सिलगढी नगरपालिकाका नगरपालिका उप प्रमुख कल्पना महर साउदले महिलाहरूको लागि पालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । परियोजनालाई निरन्तरता दिनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना कार्यकारी निर्देशक उपासना राणाले संस्थाले ७७ वटै जिल्लामा महिलाहरूको नेतृत्व तथा क्षमता विकास गर्ने,महिला अधिकार प्रवर्द्धन,लैगिंक समानता र निर्णय प्रक्रियामा महिलाको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन सीमान्तकृत महिलालाई सशक्त बनाउने एवं आयमूलक कार्यक्रमका लागि सीमान्तकृत महिलाको सिप विकासका साथै उद्यमशीलता विकास गर्ने लगायत परियोजनाको काम गरिरहेको बताइन् ।
डब्लुएचआर डोटीका कोषाध्यक्ष पशुपति खड्काको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधि,वडाध्यक्षहरू,कार्यपालिका सदस्य,वडा सदस्य, एकल महिला,संस्थाका पदाधिकारी सदस्य, पत्रकार लगायतको कार्यक्रममा  सहभागिता रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.