Sujang

मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय छ  : सिंह

प्रकाश बम, माघ २०,डोटी: मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताएका छन् । शनिवार नेपाल रेडक्रस सोसाइटी डोटी  शाखाको ३५ औँ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै समाज सेवामा रेडक्रसले उल्लेखनीय काम गरेको सिंहले बताएका हुन्  ।

‘समाजमा रेडक्रसको भूमिका महत्त्वपूर्ण छ । जहाँ दुःख छ, त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रूपमा रेडक्रस परिभाषित छ । भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सधैँ अगाडि बढेको नकार्न सकिँदैन,’ उनले भने ।

जिल्लामा रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसको योगदानलाई प्रमुख सिंहले प्रशंसा गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले रेडक्रसलाई निरन्तर रूपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने उनले प्रतिबद्धता जनाए । जिल्लामा रक्त सञ्चार केन्द्रलागि सबै स्थानीय तह अगाडी बढ्नुपर्नेमा प्रमुख बलायरले जोड दिए। भूकम्पका दृष्टिकोणले जिल्ला जोखिममा रहेकोले अब बन्ने भवन ,घर तथा संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सबैले आ -आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने प्रमुख बलायरले बताए ।

विपतका समयमा रेडक्रसले महत्त्वपूर्ण कार्य गर्दै आएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । जिल्लामा लगत्तै बिपद् व्यवस्थापन तथा प्रतिकार्य तालीम गर्न लागेको समेत अर्यालले बताए ।

रेडक्रस सोसाइटी विशुद्ध मानवीय सेवा र प्रवद्वन गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय स्वयंसेवी पवित्र संस्था भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लक्षिराम कुँवरले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुदूर पश्चिम प्रदेशका महासचिव देव बोहराले नेपाल रेडक्रस सोसाइटी दुःखमा परेको मानिसको एक असल साथी बनेर उभिएको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष चक्र कुँवर, गोपघाट उप – शाखाका सभापति मुरलीधर भट्टले समेत  शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक साधारण सभामा शिखर नगरपालिका ,बोगटान फुड्सिल गाउँपालिका , पूर्वी चौकीगाउँपालीका र सायल गाउँपालिकालाई सम्मान पत्र प्रदान गरिएको थियो ।


त्यस्तै जिल्लाका २३ वटा उप शाखा मध्य देहिमाण्डाै उप शाखालाई उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको हो।

शाखाको प्रगति प्रतिवेदन उप -मन्त्री अर्जुन बलायर र आर्थिक प्रतिवेदन उप -कोषाध्यक्ष विजयराज ओझाले प्रस्तुत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति खडक बहादुर खड्काको सभापतित्वमा भएकोमा कार्यक्रममा जनप्रतिनिधि ,सरकारी तथा गैरसरकारी संघ संस्था प्रमुख ,प्रतिनिधि, पत्रकार , नेपाल रेडक्रस सोसाइटी उप -शाखाका सभापति  ,प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.