Sujang

धार्मिक जागरण ल्याउँदै मष्टा संस्कृत गुरुकुल विद्याश्रम

खगेन्द्रबहादुर सिंह,डोटी, माघ १६:पछिल्लो समयमा हाम्रो समाजबाट धर्म, संस्कृति, संस्कार, वेद, पुराणका कुरा हराउँदै गइरहेका बेला डोटीमा एक संस्कृत विद्याश्रमले यो सम्बन्धि जागरण फैलाइरहेको छ ।
शिखर नगरपालिका वडा नम्बर– ६, चुडी स्थित श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रमले धार्मिक जागरण फैलाइरहेको छ । राजनीतिज्ञ तथा समाजसेवी स्वर्गिय दुर्गा प्रसाद फुलाराको अगुवाइमा वि.सं. २०७५ चैतमा स्थापना भई २०७६ सालबाट पठनपाठन आरम्भ गरेको मष्टा संस्कृत गुरुकुल विद्याश्रममा डोटी, बझाङ र कैलालीका विद्यार्थीहरु अध्ययनरत छन् ।
हाल विद्याश्रममा जम्मा १६ जना बटुक (विद्यार्थी) अध्ययनरत छन् भने एक जना शिक्षक रहेका छन् । जिल्लामा कुनै किसिमका धार्मिक कार्य लगायतका शुभकार्यमा उक्त विद्याश्रमका बटुकहरुलाई मन्त्रोच्चारणका लागि बोलाउने गरेको पाइन्छ ।
हाम्रो समाजलाई नैतिक शिक्षाको आवश्यकता महसुश भइरहेका बेला गुरुकुल विद्याश्रमले गरिरहेको अभियान महत्वपूर्ण रहेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक टीकाराम फुलाराले बताए । गुरुकुल शिक्षालाई सरकारले समेत महत्वका साथ हेनुपर्ने उनले बताए ।
आर्थिक मारमा मष्टा संस्कृत गुरुकुल विद्याश्रम
मष्टा संस्कृत गुरुकुल विद्याश्रमले धार्मिक जागरण फैलाइरहेको भएपनि अभावै अभावमा संचालन भइरहेको छ ।
विद्यार्थीहरुलाई पठनपाठनको आफ्नै भवन नहुँदा सरस्वती माविको दुईवटा कोठा प्रयोगमा ल्याएको शिक्षक ध्रुवराज फुलाराले बताए । शिक्षक फुलाराले भने, ‘आर्थिक अभावका कारण पठनपाठन, बस्न तथा खानको लागि समेत समस्या भइरहेको छ ।’
विभिन्न व्यक्तिले गरेको दानदातव्य, केहि स्थानीय तह, संघसंस्थाहरुले खाद्यान्न तथा आर्थिक सहयोग गरेर विद्याश्रम संचालनमा केहि सहज भइरहेको उनले बताए । बिद्याश्रम संचालनका लागि सरकारी तवरबाटै सहयोग भइदिनु पर्ने शिक्षक फुलारा बताउँछन् ।
विद्याश्रममा प्रत्येकदिन प्रातः ५ बजेदेखि सन्धोपाशन, नित्य रुद्राभिशेक, शान्ति पाठ गरिन्छ भने साँझ साढे ६ बजे सन्ध्या बन्धन र आरती गरिन्छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.