माघ १५ गते ,डोटी : डोटीमा ‘समुदायमा काँग्रेस’ अभियान सुरु भएको छ । सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि गेहेन्द्र गिरिले समुदायमा काँग्रेस अभियाले जनताको गुनासोलाई संकलन गर्ने र समाधानका लागि बहसको सुरुवात गर्ने बताएका हुन् ।
सोमबार सिलगढीमा नेपाली काँग्रेस डोटीको आयोजनामा ‘समुदायमा काँग्रेस’ अभियानको सुरु गर्दै गिरिले समुदायमा काँग्रेस अभियाले पार्टीलाई जनतामैत्री बनाउन भूमिका खेल्ने बताए ।
अभियानको अवधिमा समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि गिरिले बताए ।
नेपाली काङ्ग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्ति तथा समग्र कार्यकर्ताहरूलाई अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेका छन् । सबै वडामा एकै पटक काङ्ग्रेस , समुदायमा जाऔँ जनताका कुरा सुनौँ भन्ने अभियानलाई जिल्लाका ६५ वटै वडामा अगाडि बढाइने उनले बताए । पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवम् सदस्य, विभिन्न भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभरि भइरहेको उनको भनाई छ ।
केन्द्रीय समितिको निर्देशन बमोजिम डोटीमा पनि मङ्गलवार १६ गते सहिद दिवसको दिन सबै वडामा एकै पटक औपचारिक रूपमा अभियान सुरु गर्ने तरिकाले सूचना गरेको सभापति सिंहले बताए ।
अभियानका क्रममा खटाइएका प्रतिनिधि जिल्ला तथा वडा स्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रूपमा सहभागी हुनेछन् । अभियानका क्रममा वडावासीसँग खुला छलफल गरी तीन वटै तहका सरकारसँगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइनेछ ।
अभियान कांग्रेका स्वर्गीय नेता सुशील कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते समापन गरिने कार्यतालिका रहेको छ ।