प्रकाश बम ,माघ १४ गते डोटी : सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार बिकास मन्त्री प्रकाश देउवाले दिपायल सिलगढी नगरपालिकाको निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरेका छन् ।
आइतबार वैदिक विधिपूर्वक पूजाआजा गरी मन्त्री देउवाले भवनको शिलान्यास गरेका हुन्।
भवनको शिलान्यास गर्दै मन्त्री देउवाले भवन निर्माणले नगरको कार्यसम्पादन तथा सेवा ग्राहीलाई सेवा दिन सहज हुने बताए। प्रशासनिक भवन निर्माण गर्न प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बताए । सिलगढी पुरानो प्रसासनी गौडा समेत भएकोले पहिला जस्तै चहलपहल ल्याउन प्रदेश सरकार अगाडी बढेको समेत मन्त्री देउवाले बताए ।
दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले नगरको सबै सेवा पुरानो भवन बाट दिन निक्कै असहज भएकोले नव निर्मित भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरू प्रदान गर्न सेवाग्राहीलाई निक्कै सहज हुने बताए ।
कार्यालयलाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको खड्काले बताए । उनले नगरपालिकाले बलियो भौतिक पूर्वाधार सहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए ।
नमुना प्रशासनिक भवन बनाउने ऐतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको उप -प्रमुख कलावती महर साउँदले बताइन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पना सहित विकास निर्माण कार्यलाई अगाडी बढाइरहेको उनको भनाइ छ ।
निर्माण हुन लागेको भवन ६ करोड ४१ लाख ४२ हजार १ सय ९७ रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय रमेश चन्द्र जोशीले बताए। भवन निर्माणको जिम्मा आवरण मेटल इन्जिनियरिङ कन्स्ट्रक्सन प्राली चितवनले पाएको छ । भवन निर्माण कम्पनीले दुई बर्ष भित्र साढे तीन तलाको भवन निर्माण गरि सक्ने सम्झौता गरेको छ।
शिलान्यास कार्यक्रममा सुदूर पश्चिम प्रदेश सभाका सदस्य शिव सिंह ओली ,चक्र मल्ल लगायतको उपस्थिति रहेको थियो।