गणेश मौनी,माघ ८ डोटी:डोटीको आदर्श गाउँपालिकामा सञ्चालन भएको दुई दिने माटो परीक्षण शिविर वाट ३ सय ३३ नमुना सङ्कलन गरिएको छ ।
गाउँपालिका अन्तरगत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजता होस भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । माटो परीक्षणको नतिजा अनुसार आगामी दिनमा पालिकाले सोही अनुसारका कृर्षि क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्ने समेत अध्यक्ष खड्काले बताए ।
कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले माटो परीक्षण पछि खेतबारी सुधार्न किसानहरू स्वयं जुट्न आवश्यक रहेको बताए । उनले भने डोटीका सबै स्थानीय तहहरूले कृषि क्रान्ति गर्न आवश्यक छ । सोही अनुरूप आदर्श गाउँपालिकाले विभिन्न गतिविधिहरू सञ्चालन गरिएकोले यसलाई निरन्तरता दिन आवश्यकता अनुसारका नीति, कार्यक्रमहरू तय गरी अघाडी बढ्नुपर्ने बताए ।
माटो परीक्षण घुम्ती शिविरमा प्राय सबै वडाका किसानहरूले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले जानकारी दिइन्। दिन प्रतिदिन बसाइसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताइन् ।
गाउँपालिकाका विभिन्न वडाहरूमा माघ ७ र ८ गते सञ्चालन भएको शिविर वाट ३ सय ३३ नमुना सङ्कलन गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दल बहादुर खड्काले बताए । माटो परीक्षणको नतिजा २, ३ दिन भित्र आउने समेत अधिकृत खड्काले बताए ।
आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन आदर्श गाउँपालिकाका नाप्रास खेमराज पाठकले बताए । माटोको उपचार र संरक्षणबारे सुदूरपश्चिममा धेरै किसानहरू अझै पनि अनविज्ञ रहँदै आएका छन् ।