गणेश मौनी,पुस १० डोटी:नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
मङ्गलवार एक कार्यक्रमका बीच महानिरीक्षक कुँवरले कार्यालय, प्रहरी निवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने कार्य सेवा थप चुस्त, दुरुस्त ऊर्जामय, नवीन सोच हुनुका साथै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यावसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए ।
नेपाल प्रहरीले आन्तरिक सुद्धिकरण कार्यलाई अभियानका रूपमा नै अगाडि बढाएको जानकारी दिँदै महानिरीक्षक कुँवरले नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानुन विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उनले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले विगतमा डोटी प्रहरीले जीर्ण र असुरक्षित भवनबाट सेवा प्रवाह गर्दै आएकोमा नवनिर्मित भवनहरूबाट सेवा प्रवाह गर्ने क्रममा प्रहरी कर्मचारीहरूको मनोबल समेत उच्च हुने बताएका थिए ।
भवन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का विजय र डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले डोटी जिल्लाको शान्ति सुरक्षाको अवस्था,शान्ति सुरक्षा स्थापित गर्न खेलेको भूमिका, जिल्लाका सवाल र प्रहरी सँगको साझेदारीमा जिल्लामा गर्न सकिने गतिबिधीहरुको बारेमा जानकारी समेत गराएका थिए ।
नेपाल सरकारको नियमित बजेट तर्फ मूल्य अभिवृद्धि कर सहित १० करोट ८ लाख ६३ हजार ४ सय ६४ रुपँया भवन निमार्ण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए । भवन निमार्ण रोयल कस्टक्सन प्रा.ली. धनगढी र प्रतिष्ठा कस्टक्सनले निमार्ण गरेका थिए । भवनहरूको निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न भएको बताइएको छ । भवन उद्घाटनका क्रममा भवन निर्माण कार्य सम्पन्न गर्नमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।