Sujang

डोटीमा जुवा खालबाट नगद सहित १२ जना जुवाडे पक्राउ

गणेश मौनी,कार्त्तिक २४ डोटी:डोटीमा जुवा खालबाट प्रहरीले नगद सहित १२ जना जुवाडे पक्राउ गरेको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडा बजारबाट प्रहरीले शुक्रवार राति तास खेलिरहेको अवस्थामा नगद रकम सहित जुवाडेलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक जनक बहादुर बोहराको कमान्डमा खटिएको टोलीले जुवाडेहरूलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन् ।
विशेष सुराकीका आधारमा प्रहरीले रातीको १ बजेको समयमा एउटा घरमा जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । घर मालिक सहित जुवाडेहरूको साथबाट १ लाख ८४ हजार ६ सय ८० रुपैयाँ नगद तिन गड्डी तास सहित पक्राउ गरिएको श्रीवास्तवले जानकारी दिएका छन् ।
प्रहरीले जुवाडेहरूको नाम खुलाएको छैन घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहारको समयलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत प्रहरीको नियमित गस्तीका साथै सादा पोसाकमा जिल्ला भरि सिभिल प्रहरीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.