गणेश मौनी ,कात्तिक १७ डोटी :डोटी जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तिनै तहका सरकारहरू बिचको साझा पहल आवश्यक रहेको समन्वय बैठकले निष्कर्ष निकालेको छ ।
शुक्रवार सामाजिक विकास कार्यालय डोटीले राजपुरमा आयोजना गरेको गत आ.ब.को कार्यक्रम समीक्षा तथा चालु आ.व.को कार्यक्रमको जानकारी दिनको लागि सरोकारवाला निकायहरू सँगको समन्वय बैठकका सहभागीहरूले उक्त निष्कर्ष निकालेका हुन् ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार बिचको साझा प्रयास आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनु भयो । बैठकमा जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न देखिएका समस्या, समाधानका उपाय, विद्यालय समायोजन, दरबन्दी मिलान र स्थानीय तहले गर्ने कार्यक्रमहरूलाई कसरी नतिजामुखी बनाउन सकिन्छ भन्ने लगायतका विविध विषय बस्तुमा छलफल भएको समेत बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सन्तोषजनक अवस्थामा नरहेको कार्यक्रमका सभाध्यक्ष एवं शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गादत्त विष्टले बताउनु भयो । उनले भने सुदूरपश्चिमको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर साह्रै नाजुक छ भन्न त मिल्दैन तर पनि हामी सन्तुष्ट हुने अवस्था छैन, गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, शिक्षा क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूको साझा पहल आवश्यक छ अवश्य सुधार हुन्छ ।
डोटीका ९ वटै स्थानीय तहका शिक्षा शाखा र महिला शाखाका कर्मचारी सहभागी रहेको कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षा तालिम केन्द्र प्रमुख लगाएको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले गत आ.व.मा सञ्चालन गरेका क्रियाकलाप र चालु आ.व.का कार्यक्रमहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए ।