Sujang

विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल

Ban

होम कार्की:इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ ।

हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।

 

Krishi

बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका हुन् । प्रवक्ता लेवीले बन्धक बनाइकालाई निःसर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरिएको बताए ।

जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूत बताउँछन् । ‘हमाससँग कतारको नजिकको सम्बन्ध भएको सबैसामु छर्लङ्गै छ । यस्तो कठिन अवस्थामा नेपालका परराष्ट्रमन्त्री यो विषयमा पहल गर्न कतार जानुपर्छ,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा चिठीपत्रले मात्रै काम गर्दैन ।’

नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ । बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ऋषि सुनकले चार बन्धकलाई रिहा गरेकामा कतार र कतारी अमिरलाई धन्यवाद दिएका थिए । कतारले आगामी दिनमा दर्जनौं बन्धकलाई रिहा गर्न वार्ता हुन सक्ने जनाएको थियो । तर, गत शुक्रबार रातिदेखि गाजा क्षेत्रमा इजरायलको प्रवेशले अवस्था थप कठिन बनेको छ । -कान्तिपुरबाट साभार

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.