डोटी :सडक तथा स्वास्थ्य भवन निर्माणको काम समयमा सम्पन्न नगर्ने एक ठेकेदार कम्पनीका बिरुद्ध जोरायलका युवाहरु आन्दोलित भएका छन्।
जोरायलको बुडर जोरायल सडक कालोपत्रे योजना र प्राथमिक स्वास्थ्य केन्द्र जोरायलको भवन निर्माण कार्य समयमा सम्पन्न नगरेको भन्दै राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीका बिरुद्ध युवाहरु आन्दोलित भएका हुन् । जोरायलका युवाहरुले निर्माण कम्पनीलाई दवाव दिन जोरायल गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाको सँयोजकत्वमा सँघर्ष समिति पनि गठन गरेका छन् ।
आन्दोलनको पहिलो चरणको दवावमूलक कार्यक्रम अन्तरगत सँघर्ष समितिले २ हजार २ सय ८७ जनाको हस्ताक्षर सँकलन गरि निर्माण कम्पनीलाई पठाईएको सँघर्ष समितिका सह सँयोजक केशवनारायण जोशीले बताए ।
सह सँयोजक जोशीका अनुसार शुक्रबार सँकलन गरिएको हस्ताक्षर जोरायल गाउँ पालिका मार्फत निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा कम्पनी धनगढीलाई पठाई पूर्बाधार बिकास कार्यालय डडेल्धुरालाई जानकारी दिईएको छ ।
उता निर्माण कम्पनीले बिभिन्न प्राबिधिक तथा प्रशासनिक कारणले निर्माण कार्यमा ढिलाई भएपनि दशैं लगत्तै निर्माण कार्य शुरु गर्न पहल भईरहेको जनाएको छ ।